फाइल तस्विरः देउमान थेबे/सभापतिः नेपाली कांग्रेस झापा

झिलझिले, २८ भदौ–कठिन मोडमा विचलित नभइ पार्टी एकताका लागि दृढ रहेका नेपाली कांग्रेसका जिल्ला सभापति देउमान थेबेको कार्यकाल थप गर्नुपर्ने माग उठेको छ ।

कठिन समयमा पनि विचार र मूल्यका साथ उभिन सक्ने निष्ठा थेबेमा देखिएकाले उनलाई दोस्रो कार्यकालका लागि नेतृत्व दिनुपर्ने कार्यकर्ता पंक्तिबाट माग भइरहेको हो ।

कांग्रेसको १५ औ महाधिवेशनको संशोधित कार्यतालिका अनुसार गाउँ–नगर वडा अधिवेशन ३ र ४ असोजमा, गाउँ–नगरपालिका अधिवेशन ७ असोजमा र प्रदेशसभा क्षेत्रीय अधिवेशन तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन १० असोजमा गरिनेछ ।

१६–१९ असोजमा केन्द्रीय महाधिवेशन हुने भएको छ । गाउँ–नगर अधिवेशन र प्रदेश तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन गरेर सिधै केन्द्रीय महाधिवेशन गर्ने गरी कार्यतालिका हेरफेर गरिएको हो । जिल्ला र प्रदेश अधिवेशन केन्द्रीय महाधिवेशनपछि गर्ने कार्यतालिका छ ।

कांग्रेसले यसअघि २४ भदौमा वडा अधिवेशन सुरु गर्ने कार्यतालिका थियो । गत चैतमा ल्याइएको कार्यतालिकामा भने २ भदौदेखि वडा अधिवेशन गर्ने र १६–१९ असोजमा केन्द्रीय महाधिवेशन गर्ने उल्लेख थियो ।

थेबेको कन्काई ३ स्थित घर गत वर्षको जेनजी आन्दोलनमा आन्दोलनकारीहरुले आगो लगाई क्षति पुर्‍याएका थिए । कांग्रेसको लोकतान्त्रिक विचारप्रति कटिवद्ध भएका थेबे कहिल्यै विचलित भएका छैनन् ।

कांग्रेसमा विभाजनको संकट देखिरहँदा उनले केही महिनाअघि सामाजिक संजालमार्फत आफू परिवर्तन र लोकतन्त्रको पक्षमा उभिएको बताएका थिए ।

गुटको आरोप लागेका उनले हिम्मतका साथ भनेका थिए ,‘ म गलतलाई सही भन्न सक्दिनँ, चाहे त्यो आफ्नै मान्छे वा आफ्नै पार्टीभित्र किन नहोस्। जहाँ जनताको हितमा बोल्नुपर्छ, बोल्नेछुस जहाँ सहयोग गर्नुपर्छ, उभिनेछु। हिजो लोकतन्त्रका लागि लडेँ,आज कठिन समयमा पनि उभिएको छु।’

१४औँ महाधिवेशनअन्तर्गत २०७८ मंसिरमा भएको जिल्ला अधिवेशनमा रामबहादुर कट्टेललाई पराजित गरी उनी जिल्ला सभापति निर्वाचित भएका थिए ।

प्रतिदिनबाट

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *