काठमाडौं, ३० भदौं–नेपाली कांग्रेसले १५औँ महाधिवेशनको तयारी अघि बढाउँदै विभिन्न तहका पद तथा प्रतिनिधिका लागि उम्मेदवारी दस्तुर निर्धारण गरेको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिले मंगलबार जारी गरेको ‘निर्वाचन निर्देशिका, २०८३’ अनुसार केन्द्रीय सभापतिका लागि उम्मेदवारी दस्तुर ४० हजार रुपैयाँ तोकिएको छ।
उपसभापति र महामन्त्रीका लागि ३० हजार, सहमहामन्त्रीका लागि २० हजार तथा केन्द्रीय सदस्यका लागि ११ हजार रुपैयाँ दस्तुर निर्धारण गरिएको छ। यस्तै, केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि ७ हजार र महासमिति सदस्यका लागि ५ हजार रुपैयाँ तोकिएको छ।
प्रदेश कार्यसमितिको सभापतिका लागि २० हजार रुपैयाँ उम्मेदवारी दस्तुर तोकिएको छ। उपसभापति र महामन्त्रीका लागि १५ हजार, सहमहामन्त्रीका लागि १० हजार तथा प्रदेश सदस्य र प्रदेश अधिवेशन प्रतिनिधिका लागि ५ हजार रुपैयाँ दस्तुर निर्धारण गरिएको छ।
जिल्ला सभापतिका लागि १५ हजार रुपैयाँ दस्तुर तोकिएको छ भने उपसभापति र सचिवका लागि ७ हजार, सहसचिवका लागि ६ हजार तथा सदस्यका लागि ३ हजार रुपैयाँ तोकिएको छ। प्रतिनिधिसभा क्षेत्रीय सभापतिका लागि १० हजार रुपैयाँ, उपसभापति र सचिवका लागि ५ हजार, सहसचिवका लागि ४ हजार तथा सदस्यका लागि २ हजार रुपैयाँ दस्तुर निर्धारण गरिएको छ।
प्रदेशसभा क्षेत्रीय सभापतिका लागि ७ हजार, उपसभापति र सचिवका लागि ४ हजार, सहसचिवका लागि ३ हजार तथा सदस्यका लागि २ हजार रुपैयाँ तोकिएको छ। स्थानीय तहअन्तर्गत महानगर तथा उपमहानगर सभापतिका लागि ७ हजार रुपैयाँ दस्तुर तोकिएको छ। उपसभापति र सचिवका लागि ४ हजार, सहसचिवका लागि ३ हजार तथा सदस्यका लागि २ हजार रुपैयाँ दस्तुर निर्धारण गरिएको छ।
नगरपालिका र गाउँपालिका सभापतिका लागि समान ५ हजार रुपैयाँ दस्तुर तोकिएको छ। नगरपालिकामा उपसभापति र सचिवका लागि ३ हजार, सहसचिवका लागि २ हजार तथा सदस्यका लागि १ हजार रुपैयाँ तोकिएको छ। गाउँपालिकामा उपसभापति र सचिवका लागि २ हजार, सहसचिवका लागि १ हजार ५ सय तथा सदस्यका लागि १ हजार रुपैयाँ दस्तुर निर्धारण गरिएको छ।
वडा सभापतिका लागि १ हजार रुपैयाँ दस्तुर तोकिएको छ। उपसभापति, सचिव र सहसचिवका लागि ७ सय तथा सदस्य र क्षेत्रीय प्रतिनिधिका लागि ५ सय रुपैयाँ दस्तुर निर्धारण गरिएको छ। कांग्रेसले वडा अधिवेशन आगामी असोज ३ र ४ गतेदेखि सुरु गर्ने कार्यतालिका बनाएको छ। केन्द्रीय महाधिवेशन भने असोज १६ देखि १९ गतेसम्म गर्ने तय गरिएको छ।
