गोविन ल्वागुन/डुडामारी (शिवसताक्षी), २८ भदौं–झापाको शिवसताक्षीमा एकदिने ई–लर्निङ प्लेटफर्मसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ।
एन प्याबसन झापाको आयोजना तथा युनिसेफको प्रायोजनमा शिवसताक्षी–८, झिलझिलेस्थित वाटर किङ्डम पार्कको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा विद्यालय शिक्षालाई प्रविधिमैत्री बनाउने, डिजिटल माध्यमबाट सिकाइलाई प्रभावकारी बनाउने तथा ईलर्निङको प्रयोगलाई विद्यालय तहसम्म विस्तार गर्ने विषयमा अन्तरक्रिया गरिएको थियो। साथै, डिजिटल शिक्षाको आवश्यकता, प्रविधिमार्फत विद्यार्थीको सिकाइमा सुधार ल्याउने उपाय तथा विद्यालयमा नयाँ प्रविधिको प्रयोगका विषयमा सहभागीलाई जानकारी गराइएको थियो।
कार्यक्रममा वक्ताहरूले पछिल्लो समय शिक्षा क्षेत्रमा प्रविधिको भूमिका बढ्दै गएको भन्दै विद्यालयहरूले समयअनुकूल प्रविधिको प्रयोगमा जोड दिनुपर्ने धारणा राखेका थिए।
कार्यक्रममा फाइट ब्याक नेपालका कार्यक्रम संयोजक अमोन पाण्डेले ई–लर्निङ प्लेटफर्मको प्रयोग, डिजिटल सामग्री तथा विद्यालय शिक्षामा प्रविधिको प्रभावकारी उपयोगका विषयमा प्रस्तुतीकरण गरेका थिए ।
सो अवसरमा नेपाल शिक्षक महासंघ शिवसताक्षीका अध्यक्ष बेनुप्रसाद कार्की, एन प्याबसन नेपालका केन्द्रीय वरिष्ठ उपाध्यक्ष जयबहादुर श्रेष्ठ तथा महासचिव प्रकाश खड्काले मन्तव्य राखेका थिए।
एन प्याबसन झापाका अध्यक्ष प्रेम सेर्माको सभापतित्व तथा एन प्याबसन नेपालका केन्द्रीय अध्यक्ष सुभास न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा निजी, सामुदायिक तथा धार्मिक विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
कार्यक्रमको सञ्चालन नाम्बिन स्कुलका शिक्षक पुष्पराज पौडेलले गरेका थिए।
