दमक, १७ असार–दमक फाल्गुनन्द चौकस्थित सरकारी अस्पताल दमक अस्पतालले सेवा विस्तार गरेको छ । अस्पतालमा सोमबार एक कार्यक्रम गरि सघन उपचार कक्ष (आइसीयू) उद्घाटन गरिएको हो ।

लायन्स क्लव इन्टरनेशनल फाउण्डेशन, स्थानीय लायन्स क्लव तथा दमक नगरपालिकाको संयुक्त परियोजनामार्फत अस्पतालमा सुविधासम्पन्न लायन्स आइसीयू सेन्टर निर्माण गरेको हो ।

लायन्स क्लव इन्टरनेशनल फाउण्डेशनको रु १ लाख ३७ हजार ७ सय १८ रुपिया यूएस डलर (करिव रु २ करोड), लायन्स क्लवहरुको तर्फबाट रु १४ लाख र दमक नगरपालिकाको रु ५१ लाख रुपियाको साझेदारीमा झण्डै रु २ करोड ५० लाख रुपियाको लगानीमा आइसीयू सेवा सञ्चालनमा ल्याइएको हो ।

अस्पतालका मेडिकल सुपरिटेन्टडेन्ट डा कृष्णप्रसाद साहका अनुसार ३ वटा भेन्टिलेटरसहित ६ वटा शैयाको आइसीयू सुविधासम्पन्न रहेको छ ।

नवनिर्मित आइसीयू कक्षको लायन्स इन्टरनेशनलका डाइरेक्टर बालकृष्ण बुर्लाकोटी र दमक नगर प्रमुख रामकुमार थापाले संयुक्त रुपमा उद्घाटन गरे । दमक १ मा रहेको स्वास्थ्य बिमासहितको दमक अस्पताल स्थानीय सरकारले सञ्चालन गरिआएको छ ।

आइसीयू उद्घाटन कार्यक्रममा नगर प्रमुख थापाले नगरबासीमात्र नभएर प्रदेशकै नागरिकलाई सरल, सुलभ ढंगले विशिष्टकृत स्वास्थ्य सेवा पुरयाँउन स्थानीय सरकार प्रयत्नशील भएको बताए । उनले अव यस अस्पतालमा सिटीस्क्यान, मिगौला रोगीका लागि डाइलोसिस सेवा अवको सात महिना भित्रमा सञ्चालन गर्नेगरी काम भईरहेको जानकारी दिए ।

अस्पतालमा आइसीयूको उद्धघाटनपछि अव जटिल प्रकृतिका बिरामीको समेत यही उपचार हुने अस्पतालका प्रवक्ता तथा प्रशासन प्रमुख डा.अनुपम घिमिरेले जानकारी दिए । उनले भने, ‘अस्पतालमा सबैरोगका विषेशज्ञ चिकित्सक भएपनि आइसियूको अभावमा रेफर गरिरहनु पर्ने बाध्यता अव त्यसको पनि अन्त्य भएको छ ।’

लायन्स क्लव अफ इन्टरनेशनल डिस्ट्रिक ३२५ सि का डिस्ट्रिक गभर्नर तथा ग्राण्ड एडमिनिस्ट्रेटर विकास अधिकारीको अध्यक्षतामा भएको आइसीयू उद्घाटनमा लायन्स इन्टरनेशनलका डाइरेक्टर बुर्लाकोटी, दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई लगायतले बोलेका थिए ।

२०७३ सालमा स्थापना भएको १५ शैयाको सो अस्पतालमा दैनिक ७ सय बढी विरामीले विभिन्न किसिमका वहिरङ स्वास्थ्य सेवा लिदैआएका छन् ।

आइसीयू उद्घाटन समारोहमा लायन्स क्लवका अधिकारीहरु, वडाअध्यक्षहरु, चिकित्सकहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *