धनुषा, १७ असार–पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले राजनीतिमा विचलन आएका कारण नेतृत्वप्रति जनआक्रोश र निराशा भए पनि वर्तमान व्यवस्थाप्रतिको समर्थन नघटेको बताएका छन्।
आज (मंगलबार) एकीकृत समाजवादी पार्टी धनुषा जिल्ला कमिटीको सातौँ अधिवेशन उद्घाटन समारोहमा बोल्दै उनले जनआक्रोश र निराशा चिर्न सेवा प्रवाहमा जोड दिनुपर्ने बताए।
अध्यक्ष नेपालले राजनीतिमा प्रतिक्रियावादी एवं पुँजीवादी चिन्तनका कारणले सिङ्गो कम्युनिष्ट पार्टी नै बदनाम हुन थालेको भन्दै सचेत हुनुपर्ने धारणा राखे। उनले पतञ्जली जग्गा प्रकरणबारे आफू ‘नबिराउनु, नडराउनु’ भन्ने पक्षमा रहेको समेत बताए।

