काठमाडौँ, १८ साउन–नेकपा (एकीकृत समाजवादी) मा संकट झन् गहिरिँदै गएको छ। झन्डै चार वर्षअघि नेकपा एमालेबाट फुटेर बनेको उक्त पार्टीमा अहिले अन्तरसंघर्ष उत्कर्षमा पुगेको छ।

पार्टी अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीच यसरी द्वन्द्व चर्किएको छ, जसले उनीहरू एउटै पार्टीका सहयात्रीभन्दा बेसी एकअर्काका प्रमुख शत्रु हुन् भन्ने भान हुन्छ। उनीहरूले एकअर्कालाई ‘पार्टी नै छाडेर गए हुने’सम्मको अभिव्यक्ति दिइरहेका छन्।

पूर्वप्रधानमन्त्रीद्वय नेपाल–खनालबीचको मतभेद पुरानै भए पनि पछिल्लोपटक सतहमा आएको विवादको सुरुवात भने नेता खनालको अभिव्यक्तिबाट भएको हो। एक टेलिभिजन अन्तरवार्तामा उनले ‘हिजो एमालेबाट विद्रोह गर्नु नै गल्ती भयो’ भनेपछि विवाद चर्किएको हो।

‘म त अब के भन्न सुरु गरेको छु भने जति वेला यो पार्टी विद्रोह या विभाजन गरियो नि, त्यो नै गलत रहेछ भन्ने ठाउँमा पुग्दै छु म’, पूर्वप्रधानमन्त्री रहेका खनालले १५ साउनको उक्त अन्तरवार्तामा भनेका छन्, ‘नेकपा एमाले भनेको एउटा संस्था हो, जो नेपालको कम्युनिस्ट आन्दोलनको एउटा राम्रो संस्था बनाइएको थियो हामीले। त्यो संस्थालाई त्यति वेला छोड्ने, विद्रोह गर्ने कुरा गलत थियो।’

एमालेप्रति नरम रहँदै आएका नेता खनालले त्यसरी सार्वजनिक रूपमै पार्टी फुटाउनु गल्ती भनेपछि भोलिपल्ट अध्यक्ष नेपालले पार्टी छाडेर जान चेतावनी नै दिए। विराटनगर विमानस्थलमा खनालको अभिव्यक्तिलाई लिएर पत्रकारहरूसँग नेपाल भने, ‘पार्टीमा बस्ने ठाउँ नै रहेन नि१ नैतिक अधिकार नै छैन, खुरुक्क राजीनामा दिनुपर्छ। बिदा लिएर जानुपर्छ।’

अध्यक्ष नेपालले त्यसअघि २ साउनमा खनालसहित एमालेप्रति नरम भएका नेताहरूप्रति कटाक्ष गरेका थिए। उनले एमालेले एकीकृत समाजवादी सिध्याउने षड्‌यन्त्रमा रहेकाले एकताको कुनै सम्भावना नभएको तर उसैसँग लसपस गर्नेलाई भन्नु आफ्नो केही नरहेको बताएका थिए।

अध्यक्षले आफूलाई पार्टी छाडेर जान भनेपछि सम्मानित नेता खनालले शनिबार पत्रकार सम्मेलन नै गरेर त्यसको जवाफ फर्काए। आफूलाई पार्टी छाड भन्ने अभिव्यक्ति आउला भन्ने आफूले कल्पना पनि नगरेको भन्दै उनले नेपाललाई तल्लो स्तरको चिन्तन भएको नेताको ट्याग दिए।

‘उहाँले मेरो अन्तरवार्ताको कुरालाई सुनेर पार्टी छाड भनेर आदेश दिनुभएछ। उहाँले आदेश दिनेबित्तिकै पार्टीको सदस्यले छाड्छरु नेताले छाड्छरु यही हो पार्टीको नेताको हैसियतरु’, उनले भने, ‘मैले त भव्य नेताको रूपमा हेरेको थिएँ उहाँलाई तर यति तल्लो स्तरको चिन्तन पनि उहाँसँग अहिलेसम्म छ।’

नेता खनालले बरु अध्यक्ष नेपाललाई पार्टी चलाउन सक्ने क्षमता नभए आफैँ छाडेर हिँड्न सुझाए। उनले ४ वर्षसम्म पनि पार्टीले विद्रोहको औचित्य पुष्टि गर्न नसकेको कुरा आमकार्यकर्ताले पनि भनिरहेको जिकिर गरे।

‘औचित्य पुष्टि गर्न नसकेको कुरा मैले मात्रै भनेको होइन। आम नेता कार्यकर्ताको कुरा हो’, उनले भने, ‘मैले उठाइदिएको मात्रै हो। आजको नेतृत्वलाई खबरदारी गरेको पनि हुँ।’

नेता खनालले अध्यक्ष नेपालले तानाशाही प्रवृत्ति देखाएको आरोप पनि लगाएका छन्। चित्त नबुझेका कुरामा नेतृत्वले बैठक बोलाएर वा व्यक्तिगत रूपमा सोध्नुपर्नेमा सार्वजनिक रूपमा पार्टी छाड्न आदेश दिएको भन्दै उनले अध्यक्ष नेपाललाई तानाशाही भनेका हुन्।

विवादको सुरुवात

दोहोरो जिम्मेवारीलाई देखाउँदै युवा संघमा गरिएको फेरबदलपछि अध्यक्ष नेपाल र सम्मानित नेता खनालबीचको मतभेद सतहमा देखिएको हो। पार्टीको केन्द्रीय सदस्य भएका जनसंगठनका अध्यक्षलाई जनसंगठनको जिम्मेवारीबाट मुक्त गर्ने भनी गत माघमा आपत्ति जारी गर्दै अनेरास्ववियूकी तत्कालीन अध्यक्ष आरति लामा र युवा संघका तत्कालीन अध्यक्ष कृष्णकुमार विश्वकर्मालाई हटाइयो। यी दुबै खनाल पक्षका हुन्।

जब कि उक्त पार्टीका अन्य जनसंगठनका अध्यक्ष पनि पार्टीको पदाधिकारीदेखि स्थायी कमिटी र पोलिटब्यूरो सदस्यसम्म छन्। नेपाल पक्षका भएकै कारण उनीहरू भने हटाइएनन्, जसले दुई पक्षबीचको मतभेद झन् बढायो।

अनेमसंघको अध्यक्ष रहेकी पार्टी केन्द्रीय उपाध्यक्ष जयन्ती राईले भने महाधिवेशन गरेर अध्यक्ष पद छाडिन् तर नयाँ अध्यक्ष बनाइएकी मुनु सिग्देल पनि पार्टीकी केन्द्रीय सदस्य हुन्।​

अनेरास्ववियूबाट लामालाई हटाएर महेश श्रेष्ठलाई अध्यक्ष बनाइयो। त्यसपछि खनाल पक्षले नरेश न्यौपानेको अध्यक्षतामा समानान्तर कमिटी घोषणा भएको छ।

युवा संघ अध्यक्षबाट विश्वकर्मालाई हटाएर गत वैशाखमा रोशन थापाको संयोजकत्वमा महाधिवेशन आयोजक कमिटी गठन गरिएको छ। त्यसमा सञ्जीव राईलाई सहसंयोजक बनाइए पनि उनले स्विकारेका छैनन्।

थापा नेतृत्वको आयोजक कमिटीलाई भदौ महिनाभित्र महाधिवेशन गर्ने कार्यादेश दिइएको छ तर झलनाथ पक्षले एकलौटी प्रतिनिधि चयन गरेर कर्मकाण्डी महाधिवेशनका नाममा संगठन कब्जा गर्ने रणनीति भन्दै विरोध गरिरहेको छ।

बाह्य संकटले थिचिरहँदा पार्टीभित्रै विवाद चर्किएपछि चिन्तित दोस्रो तहका नेता

पार्टी गठनको केही महिनादेखि नै एकीकृत समाजवादीबाट नेता–कार्यकर्ता पलायनको क्रम सुरु भयो। शीर्ष तहदेखि तल्लो तहका सयौं नेता–कार्यकर्ताहरूले छोड्दै गएपछि पार्टी क्रमशः थप कमजोर बन्दै गयो।

वैधानिक विभाजन रोक्न अध्यक्ष नेपाल सफल भए पनि एकपछि अर्को नेता र कार्यकर्ताहरूले पार्टी छाड्ने क्रम अहिले पनि रोकिएको छैन। नेता–कार्यकर्तालाई अड्याउन नसक्नु एकीकृत समाजवादी र यसको नेतृत्वका निम्ति ठूलो चुनौती बन्यो।

त्यसमाथि अहिले अध्यक्ष नेपाल नै पतञ्जलि जग्गा हिनामिना प्रकरणमा मुछिएका छन्। अदालतबाट ३५ लाख धरौटीमा छुटेका उनी कानुनी र नैतिक कठघरामा छन् भने पार्टीभित्रै नेतृत्व छाड्नुपर्ने दबाब पनि उनीमाथि छ।

नेतृत्व परिवर्तनबारे सार्वजनिक रूपमै बोलेकी नेतृ रामकुमारी झाँक्रीलाई पार्टीबाट निकाल्नुपर्ने पक्षमा नेपालसहित बहुमत पदाधिकारी छन् तर खनाल मात्रै होइन, महासचिव घनश्याम भुसालसमेत त्यसको विपक्षमा छन्। जसकारण एकीकृत समाजवादी कुनै निर्णयमा पुग्न सकेको छैन।

गत साता पार्टीमा आबद्ध वरिष्ठ नेता वामदेव गौतमलाई जिम्मेवारी दिने सन्दर्भमा पनि एकीकृत समाजवादीमा विवाद छ। गौतमले माग गरे बमोजिम संगठन विभागको जिम्मेवारी दिनुपर्ने पक्षमा महासचिव भुसाल छन् भने अध्यक्ष नेपाल त्यसमा तयार छैनन्।

चौतर्फी दबाबमा रहेका नेपाल माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको ओत लाग्ने गरी एकताको पक्षमा छन् तर नेपाल पार्टीभित्र उक्त एजेन्डा लैजान भने सकिरहेका छैनन्।

किन कि त्यो कुरा सुन्नै नचाहने ठूलो पंक्ति एकीकृत समाजवादीमा छन्, जो माओवादीसँग पार्टी एकता भए एमालेमै फर्कने निश्चितप्रायः छ। यही कुरा बुझेका महासचिव भुसाल यसलाई छलफलको विषय बनाउनै चाहँदैनन्।

यसरी पार्टी विभिन्न अप्ठ्यारा र चुनौतीका चाङले थिचिरहेका वेला शीर्ष नेताहरूबीच नै विवाद चर्किएपछि दोस्रो तहका नेताहरू भने चिन्तित बनेका छन्।

पार्टी नै विभाजनको सँघारमा पुग्ने गरी छताछुल्ल भएको अध्यक्ष नेपाल र नेता खनालबीचको विवाद अनावश्यक र गलत ठान्छन् वरिष्ठ नेता घनेन्द्र बस्नेत। बाहिरै छरपस्ट हुने गरी एकले अर्काविरुद्ध दिएको अभिव्यक्तिले दुबै नेतालाई हानि पुर्‍याउने उनको बुझाइ छ।

‘उहाँहरूबीचको वार मैले पनि हेर्दै र सुन्दै छु। यो बिलकुल अनावश्यक र बेठिक छ भन्ने मेरो निष्कर्ष हो’, उनी भन्छन्, ‘यसले पार्टीलाई मात्रै होइन, उहाँहरू स्वयंलाई पनि हानि पुर्‍याउँछ।’

अब तुरुन्तै पार्टी बैठक बोलाएर मतभेदबारे छलफल गर्नुपर्नेमा नेता बस्नेत जोड दिन्छन्। ‘अब बैठक तत्काल आयोजना गरेर कुराकानी गर्नुपर्छ। राख्नुपर्ने विषय बैठकमै राख्ने हो जसले पनि’, उनी भन्छन्, ‘निषेधात्मक प्रवृत्ति राम्रो होइन जसले जसलाई गरेको वा भनेको भए पनि। पार्टीभित्र गर्ने कुरा बाहिर गर्नु राम्रो होइन।

उपाध्यक्ष जयन्ती राई लामो समयदेखि नेताहरूबीच देखिँदै आएका मतभेद अहिले उत्कर्षमा पुग्नु पार्टीहितको पक्षमा नभएको भन्दै चिन्ता व्यक्त गर्छिन्। उनी नेताहरूबीचको आरोप–प्रत्यारोपलाई ‘केटाकेटी पारा’ ठान्छिन्।

‘नेताहरूले केटाकेटी पारा देखाउनुभयो। एउटाले निस्केर जा भन्ने, अर्को विरोध गरिराख्ने । यो दुबै नेताहरूबाट राम्रो भइरहेको छैन। दुबै नेताहरू जुन ढंगले बाहिर एकअर्काविरुद्ध बोलिराख्नुभएको छ, यो बिलकुल ठिक भएको छैन’, उनी भन्छिन्, ‘सबैको मन र मत एउटै हुन्छ भन्ने होइन तर मतभिन्नता भए पार्टीभित्र छलफल गरेर निष्कर्षमा पुग्ने हो।’

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *