काठमाडौँ, २ भदौं–नेकपा (एकीकृत समाजवादी) को युवा संगठनमा समानान्तर कमिटी गठन भएको छ। आज सञ्जीव राईको संयोजकत्वमा २२१ सदस्यीय समानान्तर कमिटी घोषणा भएको हो।
समानान्तर कमिटीका संयोजक राई पार्टीका सम्मानित नेता झलनाथ खनालनिकट मानिन्छन् भने उपाध्यक्ष निर्भीक खनाल चित्रकार झलनाथ खनालका छोरा हुन्।
पार्टी अध्यक्ष माधवकुमार नेपाल पक्षले मनोमानीपूर्ण व्यवहार गरेको भन्दै उनीहरूले समानान्तर कमिटीको अभ्यास गरेका हुन्।
आजै पार्टीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले अध्यक्ष माधवकुमार नेपाल पक्षको नवौँ महाधिवेशन आयोजक कमिटीका पदाधिकारी र सदस्यलाई शपथ गराएकै दिन खनाल पक्षले समानान्तर कमिटी घोषणा गरेको हो।
काठमाडौँमा आइतवार आयोजित एक भेलाबाट समानान्तर कमिटी गठन भएको हो।
साउन १७ मा घोषणा गरिएको नेपालपक्षीय रोशन थापा नेतृत्वको नवौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीलाई खनाल पक्षले अस्वीकार गर्दै आएको थियो।
नेपाल पक्षीय थापापछि सहसंयोजकको रूपमा खनाल पक्षीय राईलाई राखिएको थियो। उनले त्यतिखेरै सामाजिक सञ्जालबाट उक्त जिम्मेवारी अस्वीकार गरेका थिए।
यसपछि नेपाल र खनाल पक्षबीच विवाद चर्कंदै गएको थियो।
