काठमाडौं, ३ भदौं–नेकपा (एकीकृत समाजवादी) पार्टीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले आफूहरू उपसभापति इन्दिरा राना मगरलाई हटाउने कुनै पनि गतिविधिमा सहभागी नहुने बताएका छन् ।

उपसभामुख हटाउन नेपाली कांग्रेस र नेकपा एमालेले सांसदहरूको हस्ताक्षर संकलन सुरु गरेका बेला एकीकृत समाजवादीका नेता पाण्डेले भने असम्भव काम नगर्ने बताएका छन् । यसका लागि आफूहरूसँग कसैले पनि सहयोग नै नमागेको उनको भनाई छ ।

‘त्यस्तो कुरामा हामी लाग्दैनौँ,’ पाण्डेले भने, ‘हाम्रो सांसद चोरेर चोरिने कुरा होइन, सुटुक्क भोट हाल्ने पनि होइन । देखिएर भोट हाल्ने ठाउँ हो ।’ कांग्रेस–एमालेले अघिल्लो वर्षको भदौमै पनि उपसभामुख रानालाई हटाउने प्रयास गरेका थिए । तर, संख्या नपुग्दा उनीहरू रोकिन बाध्य भएका थिए ।

उपसभामुख हटाउने हल्ला चलिरहँदा अहिले एकीकृत समाजवादीका कृष्णकुमार श्रेष्ठ लगायतका सांसद सिंहदरबारमै छन् । ‘हाम्रो दलको बैठक बसेको छैन । बाहिर आएको हल्ला मैले पनि सुनें । एमाले–कांग्रेससँग दुईतिहाई पुगे हटाउलान,’ पाण्डेले थपे, ‘तर हामी त्यतातिर लाग्दैनौं ।’

उपसभामुख इन्दिरा राना मगर भने अहिले अमेरिका भ्रमणमा छिन् । उनी भदौ १३ गते स्वदेश फर्कने कार्यक्रम छ । उनी राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद हुन् । आफूलाई पदमुक्त गर्ने गरी कांग्रेस र एमालेले छलफल गरेको थाहा पाएपछि अमेरिकाबाटै उपसभामुख राना मगरले रास्वपा नेताहरूलाई फोन गरी जानकारी गराएको स्रोतको भनाइ छ ।

‘उपसभामुख विदेशमा रहेका बेला पदमुक्त गर्दा राम्रो सन्देश चाहिँ जाँदैन,’ उपसभामुख राना मगरले रास्वपा नेताहरूसँग भनेकी छन् ।

 

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *