झापा, ९ भदौ–भद्रपुर नगरपालिका–१० स्थित शत्र बिगेमा आफ्नै हजुरआमामाथि खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा २७ वर्षीय महेश सुबेदी पक्राउ परेका छन् ।
गत असार १२ गते बिहान सुबेदीले एक्लै बस्दै आएकी ७२ वर्षीया हजुरआमा खिनमाया सुबेदीलाई घरमा आएर पैसा माग्दा नदिएको कारण रिसको आवेगमा धारिलो हतियार प्रयोग गरी घाइते बनाएका थिए ।
घटनापछि फरार रहेका सुबेदीलाई खोजतलासकै क्रममा आज भदौ ९ गते साँझ जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी निरीक्षक विजय चौहानको कमाण्डमा खटिएको टोलीले शत्र बिगेबाटै पक्राउ गरेको हो ।
निज महेश सुबेदीविरुद्ध यसअघि नै ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भई पक्राउ पुर्जी समेत जारी भइसकेको प्रहरीले जनाएको छ।
हाल उनलाई जिल्ला प्रहरी कार्यालय झापामा राखी अनुसन्धान कार्य भइरहेको छ। अनुसन्धानको सिलसिलामा म्याद थप गर्न भदौ १० गते जिल्ला अदालत झापामा पेश गरिने जनाइएको छ ।
