विराटनगर, १५ भदौ–नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भूसालनिकट नेताहरूको बानेश्वर भेलाले नेकपा (माओवादी) सँग चलिरहेको पार्टी एकताबारेको छलफलप्रति असन्तोष प्रकट गरेको छ।

भेलाले माओवादीसँग मात्रै नभई ‘नेतृत्वमा पुस्तान्तरणसहितको बृहत वाम एकताका लागि पहल गर्नुपर्ने’ निष्कर्ष निकालेको सहभागी एक नेताले जानकारी दिए।

जीवनराम श्रेष्ठको अगुवाइमा भएको भेलामा रामकुमारी झाक्री, विजय पौडेल, हरि पराजुली लगायतका नेताहरू सहभागी थिए।

भेलामा बोल्नेहरूले अध्यक्ष माधवकुमार नेपालको एकल चासोमा चलिरहेको माओवादीसँगको एकता वार्ताप्रति आपत्ति जनाएका थिए।

‘पार्टी एकताका लागि भन्दै एकीकृत समाजवादी र माओवादीका शीर्ष नेताहरूसमेत बसेर मुलुकका सातै प्रदेशका नेताहरू बसेर एक चरण छलफल चलेको छ,’ ती नेताले भने, ‘आजको भेलाले त्यस्तो भेलाको औचित्य नभएको निष्कर्ष निकालेको छ।’

करिब महिना दिनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरूले दुवै दलका प्रदेशका अध्यक्ष, इन्चार्ज, संसदीय दलका नेताहरूसँग अलग अलग छलफल गरेका थिए।

सात प्रदेशमध्ये कोशीमा भने दुवै दलका नेताहरू एकताका पक्षमा उभिएका थिए।

‘सातै प्रदेशमध्ये दुई दलबीच हार्दिक सम्बन्ध कोशीमा मात्रै रहेको पाइयो,’ एकीकृत समाजवादीका एक नेताले भने, ‘अन्य प्रदेशमा दुई दलका बीचमा धेरै समस्या देखिएका छन्।’

आइतबार बानेश्वरको भेलामा सहभागी नेताहरूले माओवादीसँग मात्रै हुने एकता स्वीकार्य नहुने बरू बृहत एकताका लागि प्रयास जारी राख्दै पार्टी निर्माणमा जुट्नुपर्ने निष्कर्ष निकालेको हो।

‘अहिलेकै शीर्ष नेताहरुको नेतृत्वमा अमुक पार्टीहरू मिल्नुको कुनै औचित्य छैन भन्ने हामी सबैको मत रह्यो,’ ती नेताले भने, ‘पुस्तान्तरणसहित बृहत वाम एकताको प्रयास भने जारी राख्नुपर्ने मत बलियो थियो।’

भेलामा अध्यक्ष नेपालले पार्टी अध्यक्ष पद त्यागेर आफ्नो राजनीतिक कद अग्ल्याउनुपर्ने मत उठेको सहभागीहरूले बताएका छन्।

‘उहाँलाई पद छोड्न हुन्न भनेर सीमित व्यक्तिहरुले उकासेका छन्, उहाँ तिनै व्यक्तिहरूको उक्साहटमा लाग्नुभएको छ,’ ती नेताले भने, ‘उहाँलाई अध्यक्ष पद छोड्नु हुन्न भनेर ज जसले काँध हालेका छन्, उनीहरुले नेता नेपालको कद घटाउने काम गरिरहेका छन् भन्ने कुरा जोडतोडले उठेको छ।’

अध्यक्ष नेपाल पतन्जली जग्गा प्रकरणमा अख्तियारको मुद्दा खेपिरहेका छन्।

उनी अदालतमा धरौटी बुझाएर छुटेका थिए।

त्यसपछि उनको सांसद पद निलम्बनमा छ।

उनीमाथि लागेको भ्रष्टाचारको आरोप व्यक्ति माथिको हो भन्दै सम्मानित नेता झलनाथ खनालले उनलाई पार्टी अध्यक्ष पद छाड्न पार्टी बैठकमै लिखित माग गरिसकेका छन्।

पछिल्लो समय नेपाल र खनालले दुवैले एकअर्काविरुद्ध बोल्ने क्रमलाई निरन्तरता दिएका थिए।

केही समयअघि सहमति गरेर एकअर्काविरुद्ध बाहिर नबोल्ने सहमति गरेका थिए।

बानेश्वर भेलामा झलनाथ खनाल र घनश्याम भूसाल आफै उपस्थित भने थिएनन्।

बानेश्वर भेलामा खनाल र भूसालनिकट स्थायी कमिटीका ५ जना, पोलिटब्यूरोका १० जना र केन्द्रीय कमिटीका १० जना गरी २५ जना नेताहरू सहभागी थिए।

भेलामा सहभागीहरूले अहिलेका नेताहरू मिलेर होइन, उनीहरूले छोडेर गर्ने बृहत वाम एकता मात्रै स्वीकार्य हुने बताएको एक नेताले बताए।

‘नेताहरू मिलेर होइन, उनीहरूले नेतृत्व छाडेर हुने बृहत वाम एकता आजको समस्याको समाधान हो,’ भेलामा सहभागीहरुले भनेका थिए।

नेपालका वाम दलहरूले बुर्जुवा भन्दै आरोपित गर्नेहरूले धमाधम नेतृत्व हस्तान्तरण गरिरहेको तर वाम दलहरूमा भने जतिसुकै असफलता भोगे पनि र जस्तोसुकै आरोप लागे पनि नेतृत्व नछाड्ने समस्या भएको सहभागीहरुको आक्रोश थियो।

‘बुर्जुवाहरूले रास्वपा बनाइसके, जहाँ नयाँ पुस्ताले नेतृत्व लिएको छ,’ बैठकमा सहभागीहरूले भनेका थिए, ‘तर, वाम दलहरू चाहिँ एकै व्यक्तिको वरिपरि घुम्ने समस्या छ। आजको एउटा मुख्य समस्या यही हो।’

राजु अधिकारी (सेतोपाटीबाट)

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *