झापा, १६ भदौ–कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईले सम्पन्न नभएका योजनाहरुको छलफल अब पर्दा पछाडि नहुने बताउनुभएको छ ।
भौतिक पूर्वाधार विकास कार्यालय झापाले आइतबार यहाँ आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा मन्तव्य राख्नुहुँदै मन्त्री राईले संघ, प्रदेश र स्थानीय सरकारले सञ्चालन गरेका थुप्रै योजना रहेको बताउनुहुँदै सम्पन्न नभएका योजनाहरुको छलफल पर्दा पछाडि नहुने बताउनुभयो ।
“थुप्रै आयोजना सञ्चालनमा छन्, नागरिकको गुनासो पनि धेरै छ”, उहाँले भन्नुभयो, “अब सम्पन्न नभएका योजनाको छलफल पर्दा पछाडि हुँदैन ।” निर्माण व्यवसायी, मन्त्री र कर्मचारी मिलेर पैसा झ्वाम पार्ने अनि नागरिक अलपत्र सडकमा हिँड्नुपर्ने भन्ने आमनागरिकको गुनासो रहेको उहाँले उल्लेख गर्नुभयो ।
“लोकतन्त्र र गणतन्त्रमा पनि आम नागरिकको गुनासो सुन्न सकिएन भने कुनै पनि व्यवस्थामा सुन्न सकिँदैन”, मन्त्री राईले भन्नुभयो, “कसको कमजोरीले काम नभए हो, त्यसको चिरफार गर्न हामी लागिपरेका छौं ।”
निर्माण व्यवसायीले के कारणले समयमै काम गर्न नसकेको सोको कारण उल्लेख गर्न समेत उहाँले आग्रह गर्नुभयो । गरेको कामको बजेट सम्बन्धित कार्यालय र मन्त्रालयले नरोकेको उहाँले बताउनुभयो । “व्यवसायीले काम नगर्दा जनप्रतिनिधि खुइलिनु पर्ने, नांगिनुपर्ने किन रु”, उहाँले प्रश्न गर्नुभयो ।