काठमाण्डौं, १६ कार्तिक–नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका असन्तुष्ट पक्षसँग एकता समूहगत वा पार्टीगत एकता नहुने बताएका छन्।

एकीकृत समाजवादीले शुक्रबार माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेपछि सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भूसाल, स्थायी कमिटी सदस्य रामकुमारी झाक्रीसहितका नेता असन्तुष्ट हुँदै अर्को पार्टी गठनमा लागेका छन्।

यो पंक्ति एमालेमा जाने चर्चा भइरहेका बेला शनिबार बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीले त्यसरी आउने समूहसँग नै एकता नहुने र कोही व्यक्ति व्यक्तिगत रूपमा आउँछन् भने स्वागत गर्न तयार रहेको बताएका हुन्।

‘कुनै अमुक समूहसँग एकता हुँदैन। उहाँहरू (एकीकृत समाजवादीका असन्तुष्ट) सँग मैले कुरा गरेको छु। तपाईंहरू आउनुहोस् भनेको छु। व्यक्तिगत रूपमा दस–बीसजना आए पनि व्यक्तिगत नै हुनेछ। अलग्गै समूह बनाएर समूहगत रूपमा एमाले र फलानो समूहबीचमा पार्टी एकता भयो भन्ने कुरा हुँदैन’ ओलीको भनाइ उद्धृत गर्दै एक नेताले भने।

शुक्रबार अध्यक्ष ओलीले विगतमा एमाले छाडेर गएकाहरूलाई पुरानै घर फर्कन भन्दै आह्वानसमेत गरेका थिए।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *