आईजीपी दानबहादुर कार्की

काठमाडौँ, २५ कार्तिक–नेपाल प्रहरीको ३३औं प्रहरी महानिरीक्षक (आईजीपी) मा दानबहादुर कार्की नियुक्त हुनुभएको छ।

हिजो (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रहरी महानिरीक्षक (आईजीपी) मा नियुक्त गरेको हो ।

कार्की हाल काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी प्रमुख छन्। नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुवेर खापुङ बुधबारदेखि ३० वर्षे सेवा अवधि पूरा भएर अवकाशमा जाँदैछन्। खापुङ अवकाश हुने भएसँगै सरकारले सोमबार नै नयाँ आईजीपीमा कार्कीलाई नियुक्त गरेको हो।

कार्की पहिलो नम्बरका एआईजी हुन्। कार्कीले अहिलेकै अवस्थामा २०८४ चैत १८ गतेसम्म प्रहरी संगठनको नेतृत्व सम्हाल्ने छन्। उनी २०५४ चैत १८ मा प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका थिए।

उनी २०६४ सालमा डीएसपी, ०७४ मा एसपी र २०७९ मा एसएसपी भएका थिए। एसएसपीबाट नै उनी आफ्नो ब्याचको पहिलो नम्बरमा बढुवा हुँदै आएका थिए। एसएसपी हुँदा काठमाडौँ प्रहरी परिसर प्रमुख थिए। त्यसबाहेक उनी प्रहरी महानिरीक्षकको सचिवालयमै कार्यरत रहे।

कार्की २०८१ साल जेठमा डीआईजीमा बढुवा भएका थिए। डीआईजी भएपछि पनि महानिरीक्षकको सचिवालयमै कार्यरत कार्कीले प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी सम्हालेका थिए। त्यसपछि उनलाई लुम्बिनी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी दिइएको थियो।

०८२ वैशाखमा उनी पहिलो नम्बरमै एआईजीमा बढुवा हुँदा राजन अधिकारी र मनोजकुमार केसी पनि एआईजी भएका थिए। अधिकारी र केसी पनि कार्कीकै ब्याची हुन्।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *