केर्खा, २५ कार्तिक–केर्खामा निर्माण गरिएकोे किरात तियेङलुङ चोलुङ माङहिमको उद्घाटन र माङहिम परिसरमा निर्मित महागुरु फाल्गुनन्द लिङ्गदेनको शालिक आज (मंगलबार) एक कार्यक्रमको आयोजना गरेर अनावरण गरिएको छ ।
१६औं राष्ट्रिय विभूती महागुरु फाल्गुनन्द लिङ्गदेनको १४१औ जन्मयन्तीका अवसर पारेर माङहिमसहित महागुरुको पूर्णकदको शालिक अनावरण गरिएको हो ।
कमल गाउँपालिका वडा नम्बर ३ केर्खामा नवनिर्मित माङहिम र शालिकको किरात धर्मका गुरु आत्मनन्द लिङदेन र गुरुआमा पवित्रा हाङ्गमा साँवा लिङदेनको संयुक्त वाहुलीबाट उद्घाटन गरेका हुन् ।
विसं १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा फाल्गुनन्दको जन्म भएको थियो । किरात, भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा उनले महत्वपूर्ण योगदान पुरयाँएको भन्दै सरकारले २०६६ मङ्सिर १६ गते राष्ट्रिय विभूति घोषणा गरेको थियो ।
सोहि अवसरमा माङहिम निर्माणकालागी स्व। दलबहादुर मेन्याङ्गवोले करिव रु ९० लाख मूल्य पर्ने ३ कठठा जमीन उपलव्ध गराएका थिए । सोही जग्गामा निर्माण गरिएको माङहिम ५३ फुट अग्लो ९ तलाको रहेको छ ।
माङहिम निर्माण कार्य १० वर्ष अगाडी सुरु गरिएको थियो । माङहिम निर्माणका लागी कमल गाउँपालिका , प्रदेश सरकार साथै चन्दा दाताहरुको सहयोगमा निर्माण कार्य सम्पन्न गरिएको हो ।
माङहिमका कोषाध्यक्ष लाखबहादुर मावोका अनुसार करिव ८९ लाख रुपैयाको लागतमा नेपालकै अग्लो माङहिम निर्माण गरिएको छ । त्यस्तैे २२ लाख रुपैयामा यज्ञकुण्ड र ४१ लाख रुयैयामा महागुरु फाल्गुनन्दको ९ फिट अग्लो पूर्णकदको शालिक निर्माण गरिएको उनले बताए ।
माङहिमका अध्यक्ष सुर्यप्रसाद एक्पाङदेन लिम्बूको अध्यक्षतामा भएको सो कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, दमक नगरपालिकाका प्रमुख रामकुमार थापा, किरात धर्म सहित्य उत्थान संघका केन्द्रीय अध्यक्ष डकेन्द्रसिह थेगिम लगायत ठुलो संख्यामा किरात धर्मावलम्बीहरुको उपस्थिति रहेको थियो ।
