ताप्लेजुङ, ३० कात्तिक–ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ अन्तर्गतका हिमाली बस्ती घुन्सा र फलेटारमा स्याउखेतीको परीक्षण सफल भएको छ। स्थानीय किसान र विभिन्न संस्थाले परीक्षणका रूपमा रोपेका स्याउ बिरुवाले फल दिन थालेपछि उत्साह बढेको छ।
विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो शिखर कञ्चनजङ्घा आधार शिविर प्रवेशद्वारमा अवस्थित फले र घुन्सामा इटालीबाट ल्याइएका बिरुवा रोपिएको थियो। रोपेको छ महिनामै स्याउ फल्न थालेपछि स्थानीयवासी आशावादी बनेका छन्। हिमाली भूभागमा स्याउखेतीको यो सफल प्रयासले ताप्लेजुङ मात्र होइन, सम्पूर्ण पूर्वी हिमाली क्षेत्रका किसानका लागि व्यावसायिक स्याउखेतीको नयाँ सम्भावना देखाएको छ।
फलेटार र ग्याप्ला क्षेत्रमा विगतदेखि नै स्याउखेती हुँदै आएको भए पनि घुन्सामा पहिलोपटक परीक्षण गरिएको हो। मनाङ एग्रो फार्मको समन्वयमा इटालीबाट ल्याइएका ‘फुजी’ र ‘गोल्डेन डेलिसियस’ प्रजातिका बिरुवा रोपिएका हुन्। पुतली सहयोग योजना, स्वीट्जरल्याण्डको टोली र स्थानीय समुदायको साझेदारीमा दिगो पर्यावरणीय कृषि प्रणाली कार्यक्रमअन्तर्गत फलेटार र घुन्सामा दुई–दुई रोपनी क्षेत्रफलमा नमूना स्याउ बगैँचा विस्तार गरिएको छ।
पुतली सहयोग योजनाका जिल्ला संयोजक दावाछिरिङ शेर्पाका अनुसार परियोजनाको उद्देश्य स्याउ उत्पादनसँगै अन्य कृषि उपजमार्फत किसानलाई आर्थिक रूपमा सशक्त बनाउनु रहेको छ।
घुन्साका स्थानीय नुपुडुण्डुक शेर्पाले आफ्नै स्याउ बगैँचा विस्तार गर्ने योजना बनाएका छन्। उनले भने, “हामीले घुन्सा र फलेमा रोपिएको स्याउ खायौँ। मीठो स्वादको स्याउ फल्यो। अब घुन्सा क्षेत्रमा स्याउखेती गर्ने योजनामा छौँ।”
घुन्सास्थित नमूना बगैँचामा ६० जापानिज फुजी ९पोथी०, १० गोल्डेन डेलिसियस ९भाले० र १० गाला ९भाले० प्रजातिका बिरुवा रोपिएका छन्। बगैँचामा जैविक विविधता कायम गर्न मौरीपालन र कुखुरापालन गरिएको छ, जसले परागसेचनमा सहयोग पुर्याउने र माटो उर्वरता बढाउने काम गरेको छ।
स्याउखेतीको सम्भाव्यता अध्ययनका लागि चार वर्षअघि फलेटार र घुन्साको माटो स्वीट्जरल्याण्डमा परीक्षण गरिएको थियो। त्यसैगरी, फले र घुन्सामा उत्पादित स्याउको गुणस्तर परीक्षण पनि सफल भएको छ। स्वीट्जरल्याण्डबाट आएका विशेषज्ञ टोलीले स्वाद, दाना र चिनीको मात्रा परीक्षण गर्दा सकारात्मक नतिजा प्राप्त भएको हो।
कार्यक्रम संयोजक शेर्पाका अनुसार घुन्सामा उत्पादित स्याउ प्रजातिमध्ये फुजीमा १३ ब्रिक्स, गालामा १३।५ ब्रिक्स र गोल्डेनमा १७ ब्रिक्स चिनीको मात्रा पाइएको छ। यस्तै, फलेमा उत्पादन भएका स्याउमध्ये फुजीमा १२ ब्रिक्स, गालामा १३।५ ब्रिक्स र गोल्डेनमा १५ ब्रिक्स मापन गरिएको छ।
हाल घुन्सा र फले क्षेत्रमा विदेशी सहयोगमा स्याउ बगैँचा सञ्चालन भइरहेको छ। उत्पादन भएको स्याउको गुणस्तर सफल परीक्षण भएसँगै किसानलाई स्याउ बगैँचा विस्तार गर्न सहयोग गर्ने तयारी भइरहेको संयोजक शेर्पाले बताए। उनका अनुसार गत साता स्वीट्जरल्याण्डबाट आएका विशेषज्ञ टोलीले घुन्सामा केही किसानका जग्गा नापजाँचसमेत गरेका छन्।
