बनियानी, ३० कात्तिक–झापाको कचनकवल गाउँपालिकामा गाईभैंसीमा लाग्ने खोरेत रोगविरुद्धको खोप अभियान शुरु भएको छ ।

खोरेतका कारण किसानले हरेक वर्ष भोग्दै आएको आर्थिक क्षति न्यूनीकरण गर्दै पशुधन सुरक्षित बनाउने उद्देश्यले गाउँपालिकाले अभियान शुरु गरेको हो । गाउँपालिकाका पशु सेवा शाखाका प्रमुख हेमराज पौडेलका अनुसार कात्तिक २८ गतेदेखि शुरु भएको यो अभियान मङ्सिर २३ गतेसम्म कचनकवल–१ देखि ७ का सबै वडामा सञ्चालन हुनेछ ।

प्राविधिकहरूले किसानकै गोठमै पुगेर निःशुल्क खोप लगाउने व्यवस्था गरिएको उहाँले बताउनुभयो । आवश्यक परिमाणमा खोप वितरण भइसकेको समेत गाउँपालिकाले जनाएको छ ।

शाखा प्रमुख पौडेलले भने, “खोरेत छिटो फैलिने र उत्पादन क्षमता घटाउने रोग भएकाले यस वर्ष खोप अभियानलाई विशेष प्राथमिकता दिइएको छ । खोपकर्ताले घरघरमै पुगेर सेवा प्रदान गर्नेछन् । खोपपछि पशुहरूको स्वास्थ्य अवस्थाबारे अनुगमनसमेत गरिनेछ ।”

अभियान अन्तर्गत प्रत्येक वडामा दुई जना प्राविधिक खटाइएको र पहिलो चरणमा १५ हजार गाईभैंसीलाई खोप लगाउने लक्ष्य राखिएको शाखाले जनाएको छ । पहिलो चरण सम्पन्न भएपछि दोस्रो चरणमा थप अनुगमन, पुनःखोप तथा जोखिमयुक्त बस्तीमा अतिरिक्त सेवा उपलब्ध गराइनेछ ।

घरमै आएर सेवा उपलब्ध गराइएकोमा स्थानीय किसान खुशी व्यक्त गर्दै यस्तो कार्यक्रमलाई नियमित रूपमा निरन्तरता दिन आग्रह गरेका छन् । खोप अभियानको औपचारिक शुभारम्भ कचनकवल गाउँपालिकाका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशीले गाईलाई माला लगाएर गरेका थिए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *