शिबगञ्ज, ४ मंसिर–मिसियो म्युनिकको आर्थिक सहयोग तथा शिवसताक्षी नगरपालिका संघको समन्वय र सहकार्यमा मानव बेचविखनविरुद्धको सबलीकरण परियोजना व्यवसायिक तालिम समापन भएको छ ।
वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउने तथा फिर्ती आप्रवासीहरूलाई स्थानीयस्तरमै पुनर्स्थापना गर्न सहयोग पुर्याउने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको हो ।
सुरक्षित आप्रवासनमार्फत मानव बेचबिखनविरुद्धको सबलीकरण परियोजना अन्तर्गत शिवसताक्षी नगरपालिका सभा हलमा व्यावसायिक तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको हो ।
परियोजनाको दोस्रो वर्षअन्तर्गत शिवसताक्षी नगरपालिका क्षेत्रका पाँच वडामा सिटीइभिटी पाठ्यक्रममा आधारित ३ सय ९० घण्टे व्यावसायिक तालिम सञ्चालन गरिएको थियो।
वडा नम्बर १ मा मोटर रिवाइन्डिङ, वडा नम्बर ४ र ७ मा ढाका तान बुन्ने तालिम तथा वडा नम्बर ८ र ११ मा एडभान्स सिलाइ–बुनाइ (लेबल–टुको) तालिम सञ्चालन गरिएको परियोजनाका सामाजिक परिचालक चिरञ्जीवी लुइटेलले जानकारी दिनुभयो।
यस कार्यक्रममा सहभागी भएका ३५ जनालाई सीप विकास तथा क्षमता अभिवृद्धि गरी स्वदेशमै स्वरोजगार तथा उद्यमशीलतातर्फ अघि बढाउन प्रेरित गर्नु, र उनीहरू मानव तस्करीजस्ता जोखिममा नपर्नु नै तालिमको मुख्य उद्देश्य रहेको थियो ।
कारितास नेपालको आयोजनामा, झापा प्राविधिक शिक्षालय बिर्तामोडद्वारा तालिम सञ्चालन गरिएको थियो।
कार्यक्रममा शिवसताक्षी नगरपालिका रोजगार शाखा संयोजक विदुर तिम्सिना, झापा प्राविधिक शिक्षालयका प्रबन्ध निर्देशक देवराज बराल, प्रशिक्षकहरू तथा कारितास नेपाल प्रादेशिक कार्यालय दमकको सम्पूर्ण टोलीको उपस्थिति थियो।
समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम कारितास नेपाल प्रादेशिक कार्यालय दमकका प्रादेशिक प्रबन्धक शंकर कुमार पौडेलको अध्यक्षतामा भएको थियो ।
