काठमाडौँ, २० मंसिर–नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले नेकपामा युवाहरूको आकर्षण बढेको र हजारौँ युवाहरू पार्टीमा प्रवेश गरेको दाबी गरेका छन् ।
मधेश प्रदेशस्तरीय एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले भ्रष्टाचारको अन्त्य गर्दै सुशासन कायम गर्ने र जेनजी आन्दोलनको जायज मागलाई अघि बढाउन पार्टीले मुख्य भूमिका खेल्ने बताए ।
अन्य नेकपा नेताहरूले पनि पार्टीलाई बलियो शक्तिको रूपमा स्थापित गर्दै मुलुकमा देखिएका बेथितिहरू अन्त्य गर्ने धारणा राखेका छन् ।
नेकपाले पार्टी एकताको सन्देश फैलाउन विभिन्न प्रदेशमा सन्देश सभा आयोजना गर्दै आएको छ । आगामी दिनमा कर्णाली र काठमाडौँमा पनि एकता सन्देश सभा सञ्चालन गर्ने तयारी भइरहेको नेकपाले जनाएको छ ।
