इटहरी, १४ पुस–सुनसरीको इटहरीमा छोरी भेट्न आएकी सासुको ज्वाइँले हत्या गरेका छन् ।इटहरी उपमहानगरपालिका–९ स्थित बीपी चोकमा छोरी भेट्न आएकी ५६ वर्षीया पविमाया बयलकोटीको आफ्नै ज्वाइँ गणेश शाह गुप्ताले गएराति हत्या गरेका हुन्।

भोजपुरको दिङ्ला–१ घर भई उपचारका लागि आएका बयलकोटी दम्पती आइतबार साँझ छोरी भेट्न इटहरीस्थित ज्वाइँको घर पुगेका थिए। बयलकोटी दम्पती आज बिहान घर भोजपुर फर्किने तयारीमा थिए ।

घर फर्कनु एक दिनअघि छोरी भेट्न पुगेका बयलकोटी दम्पतीले दिनहुँ मादक पदार्थ सेवन गर्दै आएका गणेशलाई बानीव्यवहार सुधार गर्न आग्रह गरेका थिए ।

सासु पविमायाले आइन्दा यस्तै बानीव्यवहार दोहोरिए छोरी लैजाने बताएकी थिइन्। त्यसपछि आक्रोशित बनेका गणेशले पानी तान्ने कलको डन्डी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते भएकी पविमायालाई उपचारका लागि विराटनगरस्थित विराट अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए।

घटनापछि फरार रहेका गणेशलाई आज बिहान पक्राउ गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक हमालले जानकारी दिएका छन्।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *