झापा, १५ पुस–गुरुङ समुदायहरूको महान पर्व ‘तमु ल्होसार’ आज धुमधामका साथ मनाइँदैछ । सप्रिला ल्हो (सर्प वर्ग) को बिदाई तथा त ल्हो (घोडा वर्ग) को स्वागत गरी धुमधामका साथ तमु ल्होसार मनाउन लागिएको हो ।

तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् झापाका अध्यक्ष जगतमान गुरुङले वर्ष गणना गर्ने विक्रम सम्वत् प्रचलनमा आउनुभन्दा अघि गुरुङ जातिका पूर्वजहरुद्वारा प्रत्येक एक वर्षलाई एउटा पशु वा पक्षीको नाम दिएर वर्ष गणना गर्ने परम्परालाई ल्हो वा वर्ग भन्ने गरिएको बताउनुभयो ।

“तमु ल्होसार गुरुङ जातिको मुख्य मौलिक पर्व हो”, उहाँले भन्नुभयो, “प्रत्येक वर्ष पुस १५ गतेका दिन मनाइने परम्परा छ । पुस १४ गते सबैभन्दा लामो रात र सबैभन्दा छोटो दिन हुने र पुस १५ गतेदेखि क्रमिक रुपमा विस्तारै रात छोटिने र दिन लम्बिने मान्यता रहेको छ ।”

गुरुङ जातिको बहुल बसोबास भएको विशेषतः गण्डकी प्रदेशका गाउँहरुमा ल्होको प्रयोग तथा उमेर गिन्ती गर्ने परम्परागत पद्धति अझै पनि यथावत् उहाँ बताउनुहुन्छ । प्रत्येक एक वर्षको एउटा पशु वा पक्षीको नाम दिइएको वाह्न वर्षपछि पुनः दोहोरिने ल्हो वा वर्ग लगभग ज्योतिषीय राशि जस्तै चक्रीय प्रणाली हुने उहाँले बताउनुभयो ।

परिषद्का केन्द्रीय सल्लाहकार समिति सदस्य जलकुमार गुरुङले पछिल्लो समय नेपालमा हरेक चाडपर्व हरेक जातजातिले समान रुपले मनाउन थालेको बताउनुभयो । सोही अनुरूप तमु ल्होसार पर्व पनि साझा पर्वका रूपमा स्थापित भई सबैले मनाउन थालिसकेको उहाँले बताउनुभयो ।

तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् झापाले यस वर्ष पुस १२ गतेदेखि १५ गतेसम्म चार दिन विविध कार्यक्रम गरी तमु ल्होसार मनाएको छ । पर्वको अवसरमा गत पुस १२ गते झापाको बिर्तामोडमा ‘गुरुङ सांस्कृतिक तथा खेलकुद कार्यक्रम’ आयोजना गरेको थियो ।

त्यस्तै, पुस १३ र १४ गते प्रत्येक एकाइमा एकाई समितिको आयोजनामा सांस्कृतिक तथा खेलकुद कार्यक्रम आयोजना गरिएको थियो भने पुस १५ गते आज प्रत्येक क्षेत्रका आ–आफ्ना गुम्बामा धार्मिक सांस्कृतिक कार्यक्रम (पूजाआजा, स्वस्ति–शान्ति) गरी कार्यक्रमको समापन गरिने परिषद्का जिल्ला अध्यक्ष जगतमान गुरुङले बताउनुभयो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *