दमक, २२ पुस–शिक्षासंगै परोपकार सेवामा सक्रिय रहँर्दै आइरहेको झापाको दमकमा सञ्चालित कर्नरस्टोन पाउण्डेशन स्कुलले इलामको माङ्सेबुङ–३, चुबुवाका बालबालिकालाई चिसो मौसममा न्यानो कपडा वितरण गरेको छ ।
माङ्सेबुङ–३ चुबुबास्थित जनकल्याण आधारभूत विद्यालयमा आज (मंगलबार) कर्नरस्टोन स्कुलले त्यहाँ अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको हो । दुर्गमस्थानमा रहेको जनकल्याण आधारभूत विद्यालयमा आदिवासी जनजाती, दलित र कमजोर आर्थिक अवस्थाका विद्यार्थीहरु अध्ययनगर्ने गर्दछन् ।
कमजोर आर्थिक अवस्थाका बालबालिकाहरुलाई विद्यालयमा अध्ययननका लागि आवतजावत गर्न सहज बनाउन जाडो मौसममा न्यानो कपडा वितरण गरिएको कर्नरस्टोन फाउण्डेशन स्कुलका संस्थापक प्रिन्सिपल तथा पाष्टर युवराज गजमेरले जानबारी दिनुभयो ।
स्कुलका संस्थापक प्रिन्सिपल तथा पाष्टर गजमेरका अनुसार सो विद्यालयका ८० जना भन्दा बढी विद्यार्थीहरुलाई जाडो मौसममा लगाउने ज्याकेट, स्विटर, ट्राउजर र टोपी वितरण गरिएको हो ।
विद्यालयमा अध्ययनरत २ वर्षदेखि १३ वर्षसम्मका ८० जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको कर्नरस्टोन फाउण्डेशन स्कुलका संस्थापक प्रिन्सिपल गजमेरले जानकारी गराउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकुमारी लिम्बूको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा सामाजिक अगुवा बुद्धिजीवि पाष्टर राजकुमार नाछिरिङ राई, दमक नगर इसाई समाजका अध्यक्ष पाष्टर हेमन्त सुब्बा, पाष्टर राम राई, विद्यालयकी शिक्षिका अलिशा राई लगायतका व्याक्तित्वहरुको सहभागिता थियो ।
सो अवसरमा कर्नरस्टोन फाउण्डेशन स्कुलका संस्थापक तथा प्रिन्सिपल गजमेरले प्रवित्र कार्यको सुरुवात एक जनाबाट हुने र त्यस कार्यलाई एक दुई र चारहुँदै सिङ्गो समाज मिलेर वा हात्तेमालो गरेर अघि बढ्न जरुरी रहेको बताउनुभयो । वहाँले नानीबाबूहरुको शिक्षा र स्वास्थ्यमा हामी सवै एकजुट हुन पनि आग्रह गर्नुभयो ।
न्यानो कपडा वितरण कार्यक्रममा जनकल्याण आधारभूत विद्यालयका प्रधानध्यापक मनकुमार राईले कर्नरस्टोन फाउण्डेशन स्कुल र सो स्कुलका संस्थापक प्रिन्सिपल युवराज गजमेरसहित दमकको टोलीलाई धन्यवाद तथा आभार व्यक्त गर्नुभएको थियो ।

