काठमाडौं, २३ पुस –राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कांग्रेसले उम्मेदवारी टुंग्याएको छ।

नेपाली कांग्रेस, नेकपा एमाले र जनता समाजवादी पार्टी नेपालबीच तालमेल गरेर उम्मेदवारी दिने भएका हुन्। जसअनुसार कांग्रेसको भागमा ९ जना परेको छ। एमालेले ८ र जसपा नेपालले १ सिट लिने सहमति भएको कांग्रेस नेता रमेश लेखकले जानकारी दिए।

कांग्रेसले टुंग्याएको सूची अनुसार कोशी प्रदेश सुनीलबहादुर थापा उम्मेदवार बन्ने भएका छन्।

मधेसमा धनेन्द्र पासवास र रञ्जित कर्ण उम्मेदवार बन्ने छन्।

बागमतीमा गीता देवकोटा, गण्डकीमा जगत तिमिल्सिना उम्मेदवार बन्ने भएका छन्।

लुम्बिनीमा बासुदेव जंगली र चन्द्रबहादुर केसी तथा कर्णालीमा ललितजंग शाही उम्मेदवार तय भएको छ।

सुदूरपश्चिमा खम्मबहादुर खाती उम्मेदवार बन्ने भएका छन्।

कांग्रेसभित्र राष्ट्रिय सभामा सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाबीच भागबन्डा गरी उम्मेदवार टुंगो लगाइएको हो। महामन्त्री गगन थापासँग पनि राष्ट्रिय सभा उम्मेदवारका लागि नाम दिन माग गरिएको थियो। तर थापाले आफू यो भागबन्डामा सहभागी नहुने बताउँदै नाम नदिएको एक केन्द्रीय कार्यसम्पादन समिति सदस्यले जानकारी दिए।

ती सदस्यका अनुसार भागबन्डामा शेखर पक्षले ३ जना उम्मेदवार पठाएको छ।

राष्ट्रिय सभामा नेपाली कांग्रेसले नेकपा एमाले र जनता समाजवादी पार्टी नेपालसँग चुनावी तालमेल गर्न लागेको छ।

जसअनुसार कांग्रेसले ९ सिट तथा एमालेले ८ र जसपा नेपालले एक सिट पाउनेगरी सहमति भएको हो।

नेपाली कम्युनिस्ट पार्टीलाई पनि सहभागी गराएर सहमतिमै राष्ट्रिय सभा सदस्य चुन्ने तयारी थियो। भागबन्डा नमिलेपछि कांग्रेसले एमाले र जसपासँग तालमेल गर्न लागेको हो।

सोही अनुसार ९ जना उम्मेदवार टुंगो लगाइएको एक केन्द्रीय कार्यसम्पादन समिति सदस्यले जानकारी दिए।

एमालेले मधेसबाहेक अन्यत्र उम्मेदवार टुंग्याइसकेको छ। जसपा नेपालले महन्थ ठाकुरलाई उम्मेदवार बनाउने तयारी गरेको छ।

राष्ट्रिय सभा निर्वाचन अन्तर्गत आज मनोनयन दर्ता हुँदैछ। दर्ताका लागि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मको समय निर्धारण गरिएको छ।

फागुन २० गतेबाट रिक्त हुन लागेको १८ सिटका लागि उम्मेदवारी दर्ता भइरहेको हो।

निर्वाचन भने माघ ११ गते हुनेछ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *