काठमाडौं, २४ पुस –नेपाली कम्युनिस्ट पार्टीका मधेस प्रदेश सभा सदस्य रहबर अन्सारीले पार्टी परित्याग गरेका छन्।
उनले आजै पार्टी केन्द्रलाई पत्र पठाएर पार्टी त्याग गरेको जानकारी गराएका हुन्।
‘धेरै अघिदेखि पार्टी छाडिसकेको थिएँ, आज चाहिँ औपचारिक जानकारी गराएको हुँ,’ उनले सेतोपाटीसँग भने।
उनले केही समयअघि मधेस प्रदेश सभामा विद्रोह गरेका थिए। उनकै विद्रोहका कारण मधेसको जितेन्द्र सोनलको सरकार ढलेको थियो।
तपाईं अर्को पार्टीमा जान लाग्नु भएको हो भन्ने सेतोपाटीको जिज्ञासामा उनले तत्काल केही नसोचेको बरू प्रदेश सभा सदस्य पनि त्याग्ने बताए। प्रदेश सभा सदस्य अर्को पार्टीमा गए पद रिक्त हुने अवस्था छ।
तर अन्सारीले भने अहिले कुनै पार्टीमा नजाने बताए।
‘धेरै साथीहरू हुनुहुन्छ, उहाँहरूसँग मैले सल्लाह गर्नुपर्ने हुन्छ। म अर्को पार्टीमा गइहाल्दिनँ। प्रदेश सभा सदस्य पनि त्याग्छु,’ उनले भने।
उनले बुधबार फेसबुकमा लामो हिन्दी सायरी राखेर नेतृत्वलाई पार्टी त्यागको संकेत गरेका थिए। आज त्यसलाई औपचारिकता दिएको उनले बताए।
