विराटनगर, २५ पुस–विराटनगरबाट एक जना भारतीय नागरिक पक्राउ परेका छन्। स्रोत नखुलेको ३ लाख ३ हजारभन्दा बढी नेपाली रुपैयाँसहित प्रहरीले शुक्रबार उनलाई पक्राउ गरेको हो।

भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार रहेका भारत बिहारको अररियास्थित फारबिसगन्जका ५५ वर्षीय नन्दलाल बाहेतीलाई पक्राउ गरिएको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले बताउनु भयो।

जोगवनीबाट बीआर ३८ एए ८३०६ नम्बरको स्कुटरमा विराटनगरतर्फ आउँदै गर्दा बाहेतीलाई प्रहरीले नियन्त्रणमा लिएको हो। शरीर खानतलासी गर्दा पाइन्टको भित्री भागमा लुकाइछिपाइ राखिएको अवस्थामा स्रोत नखुलेको नेपाली रुपैयाँ बरामद भएको डीएसपी चुँडालले जानकारी दिनुभयो।

उहाँका अनुसार बाहेतीको साथबाट १ हजार दरको ३०० वटा, ५०० दरका ४ वटा र १०० दरको ११ वटा नोट फेला परेको छ । बरामद भएको ३ लाख ३ हजार १०० रुपैयाँ र स्कुटरसहित बाहेतीलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ। बरामद भएको रकम अवैध हुण्डी कारोबारको भएको हुनसक्ने प्रहरीको आशंका छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *