काठमाडौं, २५ पुस–निर्वाचन आयोगले माघ २ गतेदेखि निर्वाचन आचारसंहित लागू गर्ने तयारी गरेको छ। आयोगले आचारसंहिता लागू हुने विषयमा सरकारले जानकारी दिन लागेको छ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी सहित आयुक्तहरूले आजै प्रधानमन्त्री सुशीला कार्कीसँग आचारसंहिता लागू हुने मितिबारे जानकारी गराउँदैछन्। कार्कीसँग आयोगको टोलीले ३ बजे भेट्ने समय मागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिए।

निर्वाचन आचारसंहिता लागू भएपछि सरकारले नियुक्ति, सरूवा बढुवा लगायतका काम गर्न निर्वाचन आयोगको परामर्श लिनुपर्छ।

त्यस्तै, बजेटमा तोकिएको बाहेक अन्य रकम विनियोजन गर्न पाउने छैन। त्यसैले सरकारलाई आयोगले आचारसंहिताको विषयमा जानकारी गराउने प्रचलन रहँदै आएको छ।

त्यस्तै आयोगले आउँदो पुस ३० गते दलहरूलाई निर्वाचन आचारसंहितामा हस्ताक्षर गर्न लगाउने भएको छ। दलका प्रतिनिधिहरूले हस्ताक्षर गरिसकेपछि आयोगले आचारसंहिता( कडाइ साथ पालना गराउने गरेको छ।

आयोगले माघ २ गते मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने दिनेबाट आचारसंहित लागू गर्न लागेको हो। माघ २ गते देशभरका १६५ निर्वाचन क्षेत्रमा नै निर्वाचन अधिकृतको कार्यालय खुल्दैछन्। माघको ६ गते प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ता हुँदैछ।

आयोगले पुस १२ गते आचारसंहिता स्वीकृत गरिसकेको छ। आयोगले जारी गरेको आचारसंहितामा पहिलोपटक दलहरूले निर्वाचन आयोगमा आफ्नो घोषणापत्र पेस गर्नुपर्ने व्यवस्था गरिएको छ। त्यस्तै एआईको प्रयोग गरेर प्रचार गर्ने कार्यमा निगरानी गरिँदैछ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *