विश्वप्रकाश शर्मा

काठमाडौँ, २७ पुस–नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनमा सहभागी प्रतिनिधिले रुपान्तरित कांग्रेस खोजेको बताएका छन् । उनले अब पुरानै सोच र शैलीले अगाडि बढ्न नसकिने स्पष्ट पारेका हुन् ।

आज (आइतबार) भृकुटीमण्डपमा आयोजित कांग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै शर्माले भने, ‘पार्टीभित्रको कमजोरीको हिस्सा हामी ड्राइभिङ सिटको नजिक बसेकाले पनि लिन्छौँ । बनेको परिस्थिति सामना गर्न मनस्थिति पुरानो राखेर हुँदैन । बदल्नुपर्छ ।’

उनले पुरानै बानी राखेर नयाँ देश बनाउन नसकिने धारणा राखे । विशेष महाधिवेशन कांग्रेस मात्र नभई देशलाई पनि बदल्ने संकल्पका साथ आयोजना गरिएको उनको भनाइ छ ।

शर्माले भने, ‘कांग्रेस मात्रै बदल्न हामी यहाँ आएका होइनौँ । हामी बदलिन पनि सक्छौँ । बदल्न पनि सक्छौँ । अनि देशलाई समुन्नतिमा अगाडि बढाउन सक्छौँ भन्नेमा प्रण गर्छौं । त्यसैले कांग्रेस र देशलाई सँगै बदल्न हामी मैदानमा आएका हौँ ।’

उनले पार्टीभित्र देखिएको निराशा र असन्तोषलाई आशामा बदल्ने प्रयास भइरहेको बताए । ‘घर, निवासभन्दा नेपाली(नेपालीको मन जलेको छ । यसैले हामी मन जोड्न आएका हौँ । भवन जोड्ने मात्रै होइन, मन जोड्नसमेत हामी विशेष महाधिवेशनमा जुटेका हौँ,’ उनले भने ।

शर्माका अनुसार मौसम जस्तै खराब बनेको राजनीतिक अवस्थालाई अनुकूलतामा बदल्न विशेष महाधिवेशनको आवश्यकता परेको हो । लामो समय पोखरीजस्तै जमेको नेतृत्वको अवस्थालाई चलायमान बनाउन आफूहरू मैदानमा आएको उनको भनाइ छ ।

उनले फेरि दोहोर्‍याउँदै भने, ‘अहिलेको परिस्थितिलाई सामना गर्न, नयाँ परिस्थिति निर्माण गर्न नयाँ सोच बनाउनुपर्छ । पुरानै आनीबानी राखेर नयाँ भविष्य बनाउन सकिँदैन । यो उपस्थितिले कांग्रेस मात्र होइन, देश बदल्ने सोच राखेको छ ।’

उनले कांग्रेसले हिजोभन्दा आज आफूभित्रका चुनौतीको सामना गरिरहेको पनि बताए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *