काठमाडौँ, २७ पुस–नेपाली कांग्रेसमा महाधिवेशन नै सबैभन्दा ठूलो शक्ति भएको भन्दै महामन्त्री गगन थापाले त्यसले चाहेमा नेतृत्वदेखि नीति र विधानसम्म परिवर्तन गर्न सक्ने स्पष्ट पारेका छन्।
आज (आइतबार) आयोजित विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै थापाले महाधिवेशनको निर्णय सबैले स्वीकार गरेर अघि बढ्नुपर्ने बताएका हुन् ।
‘कांग्रेस पार्टीमा महाधिवेशनभन्दा ठूलो केही पनि छैन । महाधिवेशनले चाह्यो भने नेता छान्छ र नेता बदल्छ । महाधिवेशनले चाह्यो भने नीति छान्छ र नीति बदल्छ, महाधिवेशनले चाह्यो भने विधान बदल्छ’ थापाले भने।
उनले विशेष महाधिवेशनको नेतृत्व कुनै लोभ वा लालचका कारण नगरेको पनि स्पष्ट गरे ।
महामन्त्री थापाले सभापति शेरबहादुर देउवालगायत पार्टीका नेताहरूलाई गम्भीर भएर सोच्न आग्रह गरे। विशेष महाधिवेशनमा सहभागी प्रतिनिधिहरूलाई सम्बोधन गर्दै उनले भने, ‘भोलिको समय छ, ठण्डा दिमागले सोचौँ । पार्टीका नेताहरू भोलिको कार्यक्रममा आउनुहुन्छ भन्ने अपेक्षा गर्छौँ । आउने नआउने उहाँहरूको मर्जी । निर्णय गर्ने तपाईँ ९महाधिवेशन प्रतिनिधि०हरूको मर्जी ।’
पार्टीलाई सही दिशामा ल्याउन विशेष महाधिवेशन आयोजना गरिएको थापाको भनाइ छ। त्यसका लागि आफू हार्न पनि तयार रहेको उनले बताए। ‘पार्टीलाई ठिक ठाउँमा उभ्याउनका लागि हामी हार्न तयार छौँ । कांग्रेस ठिक भएमा देश ठिक ठाउँमा उभिन्छ,’ उनले भने।
महामन्त्री थापाले सोमबार बिहान ८ बजेदेखि विशेष महाधिवेशनको बन्दसत्र सुरु हुने र सभापतिसहित नेताहरू उपस्थित हुने विश्वास व्यक्त गरे।
‘भोलि नेताहरू हलमा आउनुहुन्छ भन्ने विश्वास छ । नेताहरू आउने(नआउने उहाँहरूको मर्जी । निर्णय गर्ने तपाईँहरूको मर्जी । तपाईँहरूले नै निर्णय गर्ने हो ।’
कहिलेकाहीँ लक्ष्य प्राप्तिका लागि त्याग आवश्यक पर्ने उल्लेख गर्दै थापाले थपे, ‘हाम्रा सन्दर्भमा चिन्ता नलिनुस् । कहिलेकाहीँ युद्ध हार्न पनि तयार हुनुपर्छ । तयार छौँ । कहिले काहीँ ज्वालाका जागृत गर्नका निम्ति आफू डढ्न पनि तयार हुनुपर्छ । नेपाली कांग्रेसलाई ठीक ठाउँमा उभ्याउनका लागि ।’
कांग्रेस सही स्थानमा उभिए मात्रै देशप्रतिको जिम्मेवारी पूरा गर्न सकिने उनको भनाइ छ।
‘यो अवसर पनि हो चुनौती पनि हो । भोलि बिहान ८ बजे हामी जम्मा हुन्छौँ । हलले जे स्थापना गर्ने भन्छ त्यही हुन्छ । कांग्रेसको विधानमा महाधिवेशनभन्दा ठूलो केही होइन’ उनले भने, ‘महाधिवेशनले चाह्यो भने नेता पनि छान्छ नेतृत्व बदल्छ पनि । विधान पनि बदल्छ । त्यो अधिकार राख्नेको भेला हो यो ।’

