काठमाडौँ, ३० पुस–कांग्रेस विशेष महाधिवेशन पक्षधर नेता विश्वप्रकाश शर्माले पहिलो पटक कारबाहीमा परेको अनुभव सुनाउँदै आफ्नो कदम पार्टीको हितमा भएको बताएका छन्।
सानेपामा बसेको कांग्रेस देउवा पक्षको केन्द्रीय समिति बैठकले विशेष महाधिवेशन गरेर पार्टीको हित विपरीत काम गरेको भन्दै शर्मासहित अन्य नेताहरूलाई पाँच वर्षका लागि साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको थियो।
त्यसपछि शर्माले भृकुटीमण्डपमा विशेष महाधिवेशन हलमा सम्बोधन गर्दै भने, ‘बदलिएको समय अनुसार कांग्रेस चलाउन खोज्दा कारबाहीमा परेको हुँ। बिहानैदेखि महामन्त्रीको पद छाडिसक्दा पनि कारबाहीको निर्णय आएको छ। छाडिसकेको पदमा के को कारबाही ?’
उनले कांग्रेसको विधान अनुसार २०१७ सालमा बीपी कोइरालाले विशेष महाधिवेशनमार्फत नेतृत्व लिएको स्मरण गर्दै, ‘हामी अहिले पनि यस्तै परिवर्तनको प्रयासमा छौँ,’ उनले भने ।
कारबाहीलाई ‘पुरस्कार’ जस्तो देखेर सकारात्मक रूपमा लिनुपर्ने शर्माले बताए ।

