काठमाडौँ, ३० पुस–नेतृत्व परिवर्तन र महाधिवेशन विवादपछि नेपाली कांग्रेस विभाजित भएको छ । पार्टी सभापति शेरबहादुर देउवा समूहले महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फर्मुल्लाह मन्सुरलाई पाँच वर्षको लागि कारबाही गरेसँगै विभाजन भएको हो ।
कांग्रेसभित्र रूपान्तरण चाहने र नचाहनेबीचको संघर्षको विभाजन भएको हो । केन्द्रीय समितिले अनुशासन उल्लंघनको अभियोगमा ३ नेतालाई कारबाही गरेपछि गगन थापाले भने, ‘मैले इतिहास बनाएको पार्टी हो, आन्दोलन हाँकेको पार्टी हो। कांग्रेस कसैको प्राइभेट कम्पनी होइन।’
देउवा पक्षले पार्टी चुनावमा जानुपर्ने अवस्थामा अहिले विशेष महाधिवेशन गर्न नसक्ने अडान राख्दै आएको थियो। नियमित महाधिवेशनका लागि वैशाख अन्तिम साता मिति पनि तय गरिएको थियो । तर कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले यसअघि नै विशेष महाधिवेशनको माग गरेका थिए ।
संस्थापन पक्षले नियमित महाधिवेशनको मिति तय भएपछि विशेष महाधिवेशन हुन नसक्ने अडान लिएको थियो। तर विशेष महाधिवेशन पक्षधरहरूले विधान अनुसार यसलाई नजरअन्दाज गर्न नहुने तर्क राखे।
विशेष महाधिवेशन पक्षधरहरूले पुस २८ भित्र महाधिवेशन बोलाउन निवेदन दिएका थिए। समय सीमा सकिँदै गर्दा उनीहरूले महाधिवेशन गरेरै छाड्ने अडान लिएका थिए।
महाधिवेशनको प्रक्रिया अघि बढ्दा पनि पार्टी विभाजनबाट जोगाउन वार्ता प्रयास भइरहेका थिए । दुवै पक्षले वार्ता टोली बनाएर सन्देश आदानप्रदान गरे। तर अडान नछोड्दा पार्टी विभाजन हुने पुगेको हो ।
