काठमाडौं, ३ माघ–नेकपा (एमाले) को सचिवालय बैठक शनिबार बस्दैछ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ बजे सचिवालय बैठक बस्ने प्रचार विभाग संयोजक मीनबहादुर शाहीले जानकारी दिए।
आजको सचिवालय बैठकबाट फागुन २१ गते हुने प्रतिनिधस सभा निर्वाचनका लागि उम्मेदवारको नामावलीलाई अन्तिम रूप दिने तयारी छ।
निर्वाचन कार्यतालिकाअनुसार माघ ६ गते सबै १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार मनोनयनको कार्यक्रम भएकोले एमालेले शनिबार उम्मेदवाहरूको नामावलीलाई अन्तिम रूप दिने तयारी गरेको हो।
एमालेका निर्वाचन क्षेत्रीय समन्वय कमिटी, जिल्ला कमिटी र प्रदेश कमिटीहरूले यसअघि नै उम्मेदवारहरूको नाम सिफारिस गरिसकेका छन्।
जसअनुसार अध्यक्ष केपी शर्मा ओलीसहित करिब ३५ जना नेताको नाम एकल रूपमा सिफारिस भएर आएको छ। हालसम्म कुनै पनि पार्टीसँग चुनावी गठबन्धन गर्ने निधो नभएकोले सबै क्षेत्रमा एमालले सूर्य चिह्नवाहक उम्मेदवार अघि बढाउने भएको छ।
शाहीका अनुसार दुर्गमा भेगमा रहेका उम्मेदवारहरूलाई निर्वाचन क्षेत्र पुग्न र मनोनयनको तयारी गर्न पनि समय लाग्ने भएकोले एमालेले सचिवालय बैठक बसेर उम्मेदवारी टुंग्याउन लागेको हो।
यस अघिको केन्द्रीय कमिटीको दोस्रो बैठकले निर्वाचनमा उम्मेदवार टुंग्याउने जिम्मा सचिवालयलाई दिने निर्णय गरेको थियो।
