काठमाडौं, ४ माघ–नेकपा (एमाले) को शनिबार बसेको सचिवालय बैठकले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अधिकांश क्षेत्रमा पार्टीका उम्मेदवार टुङ्ग्याएको छ । केही क्षेत्र र जिल्लामा भने नामावली टुङ्गो लगाउन बाँकी छ ।
तर बैठकबाट एमालेका होनहार चर्चित नेताहरूको नाम भने निर्णय हुन सकेन अर्थात् यी नेताहरूले टिकट पाएनन् । नाम टुङ्गो लगाउन बाँकी र अध्यक्षले टुङ्गो लगाउने भन्ने क्षेत्रमा अधिकांश एमाले महाधिवेशनमा ओलीसँग प्रतिस्पर्धा गर्ने नेताहरू रहेका छन् ।
एमालेको ११औँ महाधिवेशनमा अध्यक्षमा केपी शर्मा ओलीको प्यानल भन्दा फरक प्यानलबाट प्रतिस्पर्धा गर्ने नेताहरूको टिकटबारे निर्णय नभएको पाइएको छ ।
अध्यक्षका प्रतिस्पर्धी ईश्वर पोखरेल विगतमा काठमाडौँ ५ बाट चुनाव लड्दै आए पनि यस पटक भने उम्मेदवार हुन पाएनन् । उता ११औँ महाधिवेशनमै पोखरेल प्यानलबाट महासचिवमा प्रतिस्पर्धा गरेका सुरेन्द्र पाण्डेलाई पनि टिकट दिइएको छैन ।
त्यस्तै, उपमहासचिव योगेश भट्टराईको निर्वाचन क्षेत्र ताप्लेजुङमा भने उम्मेदवारबारे निर्णय भएन । त्यहाँ अध्यक्षले टुङ्ग्याउने भनिएको छ ।
त्यस्तै काठमाडौँबाट लड्दै आएका कृष्णगोपाल श्रेष्ठ, पाल्पाबाट लड्दै आएका ठाकुर गैरे, काभ्रेबाट गोकुल बास्कोटा तथा मोरङका विनोद ढकालको नाम पनि एमालेले टुङ्ग्याएका उम्मेदवारको सूचीमा अटाएन ।
