लेटाङ, ४ माघ—मोरङको लेटाङ निवासी शान्ति गुरुङ पाख्रिन लामा मोरङ निर्वाचन क्षेत्र नं १ बाट आगामी निर्वाचनका लागि उम्मेदवारी दिने भएकी छन्।
उनी धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नेतृत्व गरेको श्रम संस्कृति पार्टीबाट चुनावी मैदानमा उत्रिन लागेकी हुन्।
लामो समयदेखि समाजसेवा, मानवीय सहयोग र सामुदायिक अभियानमा सक्रिय रहँदै आएकी शान्ति गुरुङ पाख्रिन लामा सरल, सहयोगी र जनमुखी नेतृका रूपमा चिनिन्छिन्। उनले विपन्न वर्ग, श्रमिक, महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा पछाडि पारिएका समुदायका अधिकार र आवश्यकताका विषयमा निरन्तर काम गर्दै आएकी छन्।
उनको चुनावी चिन्ह “माटो” रहेको छ, जसले श्रम, भूमि र स्थानीय पहिचानप्रतिको सम्मानलाई प्रतीकात्मक रूपमा प्रस्तुत गर्छ। ‘माटो’ चिन्हमार्फत उनले श्रमको सम्मान, आत्मनिर्भरता, स्थानीय स्रोतको उपयोग र जरा–स्तरबाट विकास गर्ने स्पष्ट प्रतिबद्धता व्यक्त गरेकी छन्, जुन श्रम संस्कृति पार्टीको मूल दर्शनसँग मेल खान्छ।
श्रम संस्कृति पार्टीले श्रमको सम्मान, स्वावलम्बन, इमानदार नेतृत्व र भ्रष्टाचारविरुद्धको दृढ अडानलाई आफ्नो राजनीतिक आधार बनाउँदै आएको छ। यही विचारधाराबाट प्रभावित हुँदै शान्ति गुरुङ पाख्रिन लामाले पार्टीमार्फत प्रतिनिधित्व गर्न लागेको बताइएको छ।
वर्तमान अवस्थामा जनतामा परम्परागत राजनीतिप्रति निराशा बढिरहेका बेला समाजसेवाबाट आएको, श्रममै आधारित राजनीतिक दर्शन बोकेको महिला उम्मेदवारको उपस्थितिले मोरङ क्षेत्र नं १ मा नयाँ आशा र भरोसा जगाएको स्थानीयवासीहरूको प्रतिक्रिया छ।
नेपाली राजनीतिमा महिलाको अर्थपूर्ण सहभागिता अझै पनि चुनौतीपूर्ण रहेको सन्दर्भमा, शान्ति गुरुङ पाख्रिन लामाको उम्मेदवारी समावेशी, इमानदार र सेवामूलक राजनीतितर्फको सकारात्मक संकेतका रूपमा हेरिएको छ।
मोरङ क्षेत्र नं। १ का जनताका लागि यति सक्षम, संवेदनशील र श्रम संस्कृतिको प्रतिनिधित्व गर्ने महिला नेतृ पाउनु गर्वको विषय बनेको छ।
उनको उम्मेदवारीले केवल एक चुनावी प्रतिस्पर्धा मात्र होइन, श्रम र सेवामा आधारित नयाँ राजनीतिक संस्कारको सुरुवात गर्ने अपेक्षा गरिएको छ।

