दमक, ५ माघ–नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट झापा क्षेत्र नम्बर ५ मा रन्जित तामाङले उम्मेदवारी घोषणा गरेका हुन्।
आज (सोमबार) दमकमा पत्रकार सम्मेलन गर्दै नेकपा केन्द्रीय सदस्य तामाङले उम्मेदवारी घोषणा गरे।
उम्मेदवारी घोषणा गर्दै उनले आफ्नो जित निश्चित भएको दाबी गरे । नेकपाले उनलाई सो क्षेत्रको टिकट दिइसकेको छ।
जेन(जी आन्दोलनको माग गरेको प्रत्यक्ष कार्यकारी प्रमुखको मुद्दा स्थापित गर्न आफूले उम्मेदवारी दिएको उनले बताए। जेन(जीले उठाएको मुद्दामा आफ्नो साथ रहेको उनको भनाइ छ।
तामाङले आफू झापा–५ मै जन्मिएर हुर्किएका कारण यहाँका जनताले स्थानीयलाईनै छान्ने विश्वास व्यक्त गरे। उनले आफूलाई झापा–५ को हरेक ठाउँ थाहा भएको र अप्ठ्यारोमा पनि यहाँका जनतालाई साथ दिएको बताए। ‘अन्य उम्मेदवारलाई यहाँको ठाउँ थाहा पाउन पनि गुगल सर्च गर्नुपर्छ,’ उनले भने।
तामाङले भिडले नेतृत्व गर्न नसक्ने बताए। ‘एजेन्डा र मुद्दाले प्रतिस्पर्धा गर्ने हो,’ उनले भने, ‘समूह वा व्यक्तिको भिडले नेतृत्व गर्ने हैन। हामी अफवाहलाई चिरेर विजयीको झण्डा गाड्छौँ।’
झापा ५ मा एमाले अध्यक्ष केपी शर्मा ओली तथा राष्ट्रिय स्वतन्त्र पार्टीबाट बालेन शाहले मंगलबार उम्मेदवारी दर्ता गर्दै छन्।

