दमक, २६ वैशाख–झापाको दमक–५ हरिओम कोलनीस्थित सर्वोदय अंग्रेजी माध्यमिक विद्यालयमा होटल मेनेजमेन्ट (कुलिनरी आर्ट) विषयको अध्ययन-अध्यापनसम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ।
विद्यालयले चालु शैक्षिक सत्रदेखि कक्षा ११ मा होटल मेनेजमेन्ट विषय सञ्चालन गर्न लागेको सन्दर्भमा विद्यार्थीहरू र विषय विज्ञबीच छलफल कार्यक्रम आयोजना गरिएको विद्यालयका प्रिन्सिपल नबीन योगीले जानकारी दिनुभयो ।
कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीका उपाध्यक्षसमेत रहेका साइकुमार शर्मा प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। शर्माले विश्व बजारमा पाककला विज्ञ तथा सेफहरूको माग तीव्र रूपमा बढिरहेको उल्लेख गर्दै नेपाली युवा विद्यार्थीहरूले कुलिनरी आर्ट विषय अध्ययन गरी व्यवहारिक रूपमा दक्ष बन्नुपर्ने आवश्यकता औंल्याए।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अनिल सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सर्वोदयका विद्यार्थीका साथै विभिन्न विद्यालयबाट कक्षा ११ अध्ययनको तयारी गरिरहेका विद्यार्थीहरूको सहभागिता रहेको थियो। विद्यालयका प्रिन्सिपल नविन योगी ले पछिल्लो समय विद्यार्थी तथा अभिभावकहरूको रोजाइमा कुलिनरी आर्ट विषय पर्दै गएको बताउँदै विद्यालयले होटल मेनेजमेन्टसँगै कम्प्युटर साइन्स विषयको समेत अध्यापन सुरु गर्न लागेको जानकारी दिए।
विद्यालय व्यवस्थापनका अनुसार उच्च माध्यमिक तहका विद्यार्थीलाई गुणस्तरीय तथा प्रविधिमैत्री शिक्षा प्रदान गर्ने उद्देश्यले भौतिक पूर्वाधार तथा दक्ष विषय शिक्षकमा लगानी बढाइएको छ। प्रयोगात्मक तथा सीपमूलक शिक्षालाई प्रभावकारी बनाउन अत्याधुनिक कुलिनरी ल्याब, कम्प्युटर ल्याब तथा विज्ञान प्रयोगशालाको व्यवस्था गरिएको विद्यालयले जनाएको छ।
विद्यार्थीको सुरक्षा तथा नियमित हाजिरी व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन च्ँक्ष्म् कार्ड प्रणाली र विद्यालयको आफ्नै मोबाइल एप सञ्चालनमा ल्याइएको विद्यालय प्रशासनले जनाएको छ। उक्त प्रणालीमार्फत विद्यार्थी विद्यालय प्रवेश वा बाहिरिनेबित्तिकै अभिभावकले मोबाइलमार्फत तत्काल जानकारी प्राप्त गर्ने व्यवस्था गरिएको छ।
