दमक, २६ वैशाख– दमक–५ वडा बालमैत्री वडा घोषणा भएको दोस्रो वर्ष पूरा भएको अवसरमा वडा बाल सञ्जाल दमक–५ ले “बालमैत्री दिवस” मनाएको छ । बालमैत्री दिवसको अवसर पारेर दमक–५ मा  वडा बाल सञ्जालले नगरस्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको हो ।

५ नम्बर वडा कार्यालयको सहयोगमा शनिबार दीपिनी आधारभूत विद्यालयको सभाकक्षमा सम्पन्न प्रतियोगितामा नगरभित्रका ३० जना बालबालिकाको सहभागिता रहेको आयोजक वडा बाल सञ्जालका सहसचिव विदुर पौडेलले जानकारी दिए । “बालमैत्री समाज निर्माणमा बालबालिकाको भूमिका” शीर्षकमा आयोजित प्रतियोगितामा सहभागी बालबालिकाले आफ्नो धारणा प्रस्तुत गरेका थिए ।

प्रतियोगितामा प्रनिसा चौहान प्रथम, परिधी शिवाकोटी द्वितीय, केनिसा सुवेदी तृतीय तथा डिजायर नेपाल सान्त्वना घोषित भएका वडा बाल सञ्जाल दमक–५ का उपाध्यक्ष दिवस वाग्लेले बताए । विजयी प्रतियोगीहरुलाई कार्यक्रममै पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

दमक नगरपालिकाका प्रमुख रामकुमार थापाको प्रमुख आतिथ्य तथा वडा बाल सञ्जाल दमक–५ की अध्यक्ष सुकृति पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घाटन वडा सदस्य गोपालकृष्ण संग्रौलाले गरेका थिए ।

कार्यक्रममा वडा सदस्यहरू शोभा खतिवडा बेलबाँसे र ख्यामकुमारी परियार, नगर बाल सञ्जालकी पूर्व अध्यक्ष आकृति बस्नेत, बाल सञ्जालका पूर्व पदाधिकारी, सदस्यहरू तथा नगरका विभिन्न वडा बाल सञ्जालका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा वडा बाल सञ्जाल सदस्य रिया आचार्यले स्वागत मन्तव्य राखेकी थिइन् भने सञ्चालन सहसचिव विदुर पौडेलले गरेका थिए । आयोजकले बालबालिकाको क्षमता विकास, नेतृत्व अभिवृद्धि तथा बालमैत्री समाज निर्माणमा यस्ता कार्यक्रमले सकारात्मक योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन् ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *