काठमाडौं, २७ वैशाख–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो निर्वाचन र विकसित राजनीतिक घटनाक्रमले कम्युनिस्ट पार्टीहरूबीच एकताको बाध्यता बढेको बताएका छन् । कम्युनिष्ट जिरोमा लैजाने षड्यन्त्र भइरहेको कारण पार्टी एकता बाध्यता भएको उनको भनाई छ ।
निर्मल लामा स्मृति दिवसका अवसरमा पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले विचार, राजनीति र संगठनमा कम्युनिस्ट एकता अनिवार्य भइसकेको र यसो हुन नसके त्यो मुलुकका लागि दुर्भाग्यपूर्ण हुने चेतावनी दिए ।
विगतका गल्तीहरू मात्र कोट्याएर बस्ने समय अब नरहेको उल्लेख गर्दै उनले दक्षिण एसियाबाटै कम्युनिस्ट आन्दोलन सिध्याउने र नेपालमा ‘जिरो’ मा लैजाने षडयन्त्र भइरहेकाले त्यसविरुद्ध सचेत रहन आग्रह गरे ।
उनले भने, ‘कम्युनिष्ट आन्दोलनलाई नेपालबाट सखाप पार्न देशी विदेशी प्रतिक्रियावादीहरु निकै ठूलो डिजाईन अन्तर्गत लागि परेका छन्। यो सत्यलाई स्वीकार गर्न हामीले आँट गरेनौँ भने जानेर वा नजानेर हामीले श्रमजीवि वर्गप्रति, उनीहरूको आकांक्षाप्रति घात गरेको नै ठहर्छ भन्ने मलाई लागेको छ। त्यसकारण अहिले समय र परिस्थितिको माग छ–हामीले पहिले आफैंलाई राम्रो समीक्षा गरेर कहाँ कमजोरी भयोरु त्यसको समीक्षा गरेर सच्याउने प्रयास गर्नु र सिंङ्गै कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गरेर फेरि एकचोटी नयाँ ढंगले आन्दोलन अघि बढाउनु जरुरी छ।’
उनले कम्युनिष्टहरूबीचको एकताले मात्रै वर्ग संघर्षलाई माथि उठाउन सकिने भएकाले सो काममा नेपालका कम्युनिष्ट पार्टीहरू एकतावद्ध भएर लाग्नुपर्ने आवश्यकता भएको पनि बताए। प्रचण्डले भने,‘अहिले सरकारको तर्फबाट सबभन्दा गरिवहरुमाथि, निमुखाहरुमाथि नै सबभन्दा बढी आहात, पीडा दिने कोशिस भएको छ। सबभन्दा गरिब, जसको हामी वर्ग आधार भन्ने गर्दछौँ। त्यही वर्गमाथि प्रहार भएको छ। हामीले यो बीचमा वैचारिक ढंगले र आफनो वर्ग आधारलाई दह्रोसँग समात्नुपर्नेमा कमजोरी भएको छ। हाम्रो वर्गीय पक्षधरतामाथि आक्रमण गरेर नेपालमा कम्युनिष्टहरूलाई सिध्याउने देशीविदेशी प्रतिक्रियावादीहरू लागेका छन्।’

