काठमाडौँ, ४ जेठ–म्याग्दीको मङ्गला गाउँपालिका–२ कोत्रवाङका एक नवदम्पतीले आफ्नो विवाहको भोजभतेरमा हुने खर्च जोगाएर गाउँमा सडकबत्ती जडान गरिदिएका छन्। हालै बैवाहिक जीवनमा बाँधिएका प्रकाश खत्री र राधिका धिताल खत्रीले आफ्नै निजी लगानीमा टोलभरि बत्ती जडान गरेर उदाहरणीय कार्य गरेका हुन्। ४ जेठमा सार्वजनिक भएको यस परोपकारी कार्यपछि रातिको समयमा हिँडडुल गर्न निकै सजिलो र सुरक्षित भएको स्थानीयले बताएका छन्।
कोत्रवाङ टोल सुधार संस्थाका अध्यक्ष पूर्णबहादुर विश्वकर्माका अनुसार बस्तीमा उज्यालो भएपछि अहिले रातको समयमा सर्वसाधारण ढुक्कले आवतजावत गर्न पाएका छन् भने चितुवा जस्ता जंगली जनावरको त्रास समेत निकै कम भएको छ।
गाउँमा बत्तीको अभाव देखेपछि टोल सुधार समिति र बिहानी आमा समूहले यो नवजोडीसमक्ष सडकबत्तीको आवश्यकताका बारेमा प्रस्ताव राखेका थिए। उक्त प्रस्तावलाई सहर्ष स्विकार्दै प्रकाश र राधिकाले आफ्नै व्यक्तिगत खर्चमा १४ वटा ३० वाटका र ३ वटा ५० वाटका सडकबत्तीका साथै तार र आवश्यक सम्पूर्ण सामग्री उपलब्ध गराएको कुरा अध्यक्ष विश्वकर्माले जानकारी दिएका छन्।
यो अभियानमा स्थानीय सरकारले पनि सहयोग पुर्याएको छ। मङ्गला गाउँपालिकाले बिजुलीका पोल नभएका ठाउँहरूका लागि ३ वटा नयाँ पोल उपलब्ध गराइदिएको थियो। प्राप्त सामग्रीका आधारमा टोल सुधार समितिका अध्यक्ष विश्वकर्मा आफैँले दुई दिनको समय लगाएर ती बत्तीहरू जडान गरेका हुन्। अहिले सिम, कोत्रवाङ, कुहुँतर्फ जाने बाटो र काफलचौरको झोलुङ्गे पुलसम्मको क्षेत्र उज्यालोमय बनेको छ।
नयाँ प्रविधिको प्रयोग गर्दै गाउँमा रात परेपछि आफैँ बल्ने र बिहान उज्यालो भएपछि स्वतः निभ्ने स्वचालित बत्तीहरू राखिएका छन्। यसअघि रात्रिकालीन समयमा जङ्गली चितुवा सिधै मानव बस्तीमा पस्ने गरेका कारण स्थानीय त्रसित हुने गर्दथे। कुल २२ घरधुरीको मात्र बसोबास रहेको कोत्रवाङमा अहिले जताततै उज्यालो भएपछि चितुवा गाउँ छिर्न डराएको र गाउँलेहरूले राहत महसुस गरेको अध्यक्ष विकले बताएका छन्। उनले भनेका छन्, ुहाम्रो प्रस्तावलाई स्विकारेर प्रकाश र राधिकाले व्यक्तिगत खर्चमा सबै सामग्री दिएका हुन्।
खत्री परिवारले समाजसेवामा योगदान पुर्याएको यो पहिलो पटक भने होइन। यसअघि प्रकाशका बुबा चित्रबहादुर र दाजु विकास खत्रीले पनि कोत्रवाङबाट ताराखेत जोड्ने पैदलमार्ग निर्माण गरेर स्थानीयलाई गुन लगाएका थिए । बुबा र दाजुको त्यही सामाजिक भावनालाई पछ्याउँदै अहिले प्रकाश र उनकी पत्नी राधिकाले गाउँमा सडकबत्ती जडान गरेर सिंगो बस्तीलाई नै ठूलो सुविधा दिएका छन्।
