उमाशंकर अरगरिया

काठमाडौं, १० जेठ–नेकपा (एमाले) का नेता एवम् धनुषा–२ बाट प्रतिनिधि सभा सदस्यका प्रत्यासी उमाशंकर अरगरियाले पार्टी परित्याग गरेका छन्। आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गर्दै उनले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका हुन्।

तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) परित्याग गरी २०७९ भदौ ३० गते एमाले प्रवेश गरेका अरगरियाले पार्टीभित्र समायोजनको काम नटुंगिएको र अन्तरघातीहरू मौलाउँदै गएको भन्दै असन्तुष्टि पोखेका छन्।

अध्यक्ष ओलीलाई बुझाएको राजीनामा पत्रमा अरगरियाले पार्टी प्रवेश गरेको लामो समय भइसक्दा पनि आफूसँगै आएका नेता तथा कार्यकर्ताहरूको व्यवस्थापन र समायोजन हुन नसकेको उल्लेख गरेका छन्। आजका दिनसम्म पनि आफूसँगै आएका साथीहरू कमिटीविहीन हुनुपरेको दुःखद अवस्था सुनाउँदै उनले एमालेमा संगठन शुद्धीकरणको काम पूर्ण रूपमा ठप्प भएको दाबी गरे।

पार्टीभित्र हुर्किएको गलत प्रवृत्तिको आलोचना गर्दै नेता अरगरियाले पटकपटक आधिकारिक उम्मेदवारलाई हराउन सक्रिय रहनेहरूलाई दण्डित गर्नुको सट्टा पुरस्कृत गर्ने परम्परा देखिएको आरोप लगाएका छन्। जिल्ला नेतृत्वबाट पटकपटक अपमानित हुनुपरेको, लगनशील एवं इमान्दार कार्यकर्ताहरू अपहेलित भएका तर पार्टीविरुद्ध लाग्नेहरू नै सम्मानित हुने प्रवृत्तिले आफू आजित भएको उनले राजीनामा पत्रमा उल्लेख गरेका छन्।

जिल्ला र क्षेत्रमा देखिएका यस्ता गम्भीर समस्या तथा बेथितिका बारेमा पटकपटक पार्टीको केन्द्रीय नेतृत्वलाई जानकारी गराउँदा पनि समाधानका लागि कुनै किसिमको पहल नभएको अरगरियाको भनाइ छ। केन्द्रबाट ठोस कदम नचालिएपछि बाध्य भएर आजैका मितिदेखि लागू हुने गरी आफूले एमालेबाट अलग हुने कठोर निर्णय लिएको उनले स्पष्ट पारेका छन्।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *