काठमाडौँ, ११ जेठ–साफ महिला च्याम्पियनसिप प्रतियोगिताको प्रतिक्षित उद्घाटन खेलमा आज (सोमबार) नेपालको राष्ट्रिय महिला फुटबल टोलीले भुटानको सामना गर्दैछ। भारतको गोवास्थित पण्डित जवाहरलाल नेहरु स्टेडियममा आयोजना हुने यो खेल आज अपराह्न पौने ५ बजेदेखि सुरु हुने तय भएको छ।

साफ च्याम्पियनसिपको इतिहास हेर्दा नेपाल भुटानविरुद्ध सधैँ हावी हुँदै आएको छ। यद्यपि, घरेलु मैदानमा खेलाइएको अघिल्लो संस्करणमा नेपाली टोली भुटानसँग बराबरीमा रोकिएको थियो। पछिल्लो समय भुटानी महिला टोलीले आफ्नो खेलस्तरमा निकै सुधार गरिरहँदा नेपालको प्रदर्शनमा भने खासै सुधार आउन सकेको देखिँदैन। तर, महिला फुटबलको इतिहासमा भुटानले अहिलेसम्म नेपाललाई पराजित गर्न भने सकेको छैन।

साम्बा उपचारका लागि कतारमा, एञ्जिलाले सम्हाल्नेछिन् कप्तानी

आजको खेलमा नेपाली टोली गोलरक्षक एञ्जिला तुम्बाप्पो सुब्बाको कप्तानीमा मैदानमा ओर्लिनेछ। टोलीकी नियमित कप्तान एवं मुख्य स्ट्राइकर सावित्रा भण्डारी ुसाम्बाु हाल उपचारको सिलसिलामा कतारमा रहेका कारण टोलीको नेतृत्व गर्ने जिम्मेवारी एञ्जिलाको काँधमा आएको हो। साफ च्याम्पियनसिपमा सधैँ उपविजेतामै चित्त बुझाउँदै ुस्थायी उपविजेताु को छवि बनाएको नेपालको मुख्य लक्ष्य यसपटक उपाधि जित्नु नै रहेको छ।

तर, नेपालका लागि उपाधि यात्रा यसपटक पनि सहज भने देखिँदैन। प्रतियोगिताको समीकरण अनुसार नेपालको भेट सेमिफाइनलमै साविक विजेता बंगलादेश वा बलियो टोली भारतमध्ये एकसँग हुने निश्चितप्रायः छ। यसअघि नेपालले भारतलाई सेमिफाइनलमा पाखा लगाए पनि यसपालिको यात्रा निकै चुनौतीपूर्ण मानिएको छ।

विशेषगरी अनुभवी खेलाडी साम्बा र घुँडाको चोटका कारण मैदान बाहिर रहेकी मिडफिल्डर सविता रानामगरको अभाव टोलीलाई खट्किन सक्छ।

यसपटक टोलीमा गीता राना, सबिना चौधरी र अनिता केसीले पुनरागमन गरेका छन् भने सरस्वती हमाल र मनमाया दमाइ अन्तिम टोलीमा पर्न असफल भएका छन्। अर्कातर्फ अनिता लम्जेल र बिर्सना चौधरी भने राष्ट्रिय टोलीबाट डेब्यु गर्ने पर्खाइमा छन्। नेपाली टोलीको मुख्य प्रशिक्षकको कमान्ड नवीन न्यौपानेले सम्हालिरहेका छन्।

यस्तो छ प्रतियोगिताको तालिका

प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, भुटान र श्रीलंका रहेका छन् भने समूह ‘बी’ मा आयोजक भारत, बंगलादेश र मालदिभ्स समेटिएका छन्। दुवै समूहबाट शीर्ष दुई स्थान हासिल गर्ने टोलीहरूले सेमिफाइनलमा प्रवेश पाउनेछन्।

आजै हुने दोस्रो खेलमा घरेलु टोली भारतले मालदिभ्सको सामना गर्नेछ। नेपालले समूह चरणको आफ्नो अन्तिम खेल आगामी जेठ १७ गते श्रीलंकाविरुद्ध खेल्ने कार्यसूची छ। प्रतियोगिताको सेमिफाइनल खेलहरू जेठ २० गते र उपाधिका लागि निर्णायक फाइनल भिडन्त जेठ २३ गते हुनेछ।

नेपालको अन्तिम २३ सदस्सीय टोली

एञ्जिला तुम्बाप्पो सुब्बा, अञ्जना रानामगर, उषा नाथ, पूजा राना, गीता राना, विमला विक, हीरा भुजेल, प्रतीक्षा चौधरी, समीक्षा घिमिरे, निशा थोकर, सबिना चौधरी, रेनुका नगरकोटे, दीपा शाही, प्रीति राई, सरु लिम्बू, बिर्सना चौधरी, अनिता बस्नेत, अनिता लम्जेल, अनिता केसी, रश्मी घिसिङ, रेखा पौडेल, पूर्णिमा राई र मीना देउवा।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *