काठमाडौँ, १५ जेठ–श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले नेपाल वायुसेवा निगमको निजीकरणप्रति असहमति जनाएका छन्।
शुक्रवार सङ्घीय संसदको संयुक्त सदनमा बजेट प्रस्तुत भइरहेका बेला अध्यक्ष राई विशेष कामको कारण देखाउँदै बैठकको बीचैमा निस्किएका थिए।
सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले आफूले बजेट बहिष्कार नगरेको स्पष्ट पारे। प्रधानमन्त्री संसद्मा उपस्थित भएर जवाफदेही बनेका कारण आफ्नो आन्दोलनको औचित्य पूरा भएको र अहिले विशेष व्यक्तिगत कार्य व्यस्तताले गर्दा निस्कनुपरेको उनले बताए।
बजेटका प्रारम्भिक बुँदाहरूमाथि टिप्पणी गर्दै अध्यक्ष राईले नेपाल वायुसेवा निगमलाई निजीकरण गर्ने सरकारको योजनाप्रति असहमति व्यक्त गरे।
सरकारी निकायहरूलाई निजी क्षेत्रलाई सुम्पिनु भनेको अन्ततः ती निकायहरू बेच्नु सरह भएको उनको तर्क छ।
विगतमा पनि सरकारी कलकारखानाहरू बन्द गर्ने र सम्पत्ति बिक्री गर्ने प्रवृत्तिले देशलाई घाटा पुर्याएको उल्लेख गर्दै उनले निगमको हकमा पनि त्यस्तै हुन लागेको भन्दै आपत्ति जनाए।

