झिलझिले, १८ जेठ–झापाको शिवसताक्षी–४ पाँचगाछी बोलोचोकस्थित झापा इनर्जी प्लान्टमा आज दिउँसो अचानक आगलागी भएको छ।
सोमबार, झापा इनर्जी प्लान्टमा आगलाागीबाट रु ६ करोड बराबरको क्षति भएको छ । आगलागीको कारण भने हालसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ।
आगलागीबाट प्लान्टभित्र रहेका विभिन्न मेसिनरी सामानहरू जलेर क्षति भएको छ। घटनामा कुनै पनि मानवीय तथा चौपाया क्षति भने नभएको बताइएको छ।
आगो नियन्त्रणका लागि इलाका प्रहरी कार्यालय झिलझिलेबाट प्रहरी निरीक्षक सुवास केसीको कमाण्डमा ७ जना, इलाका प्रहरी कार्यालय शिवगञ्जबाट प्रहरी सहायक निरीक्षक बेनु बास्कोटाको कमाण्डमा ४ जनाको प्रहरी टोली खटिएको थियो।
त्यसैगरी शिवसताक्षी नगरपालिका र कमल गाउँपालिकाका दमकल तथा स्थानीय बासिन्दाहरूको संयुक्त प्रयासमा आगलागीलाई करिब २ः ५० बजे पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
आगलागी भएको स्थान इलाका प्रहरी कार्यालय शिवगञ्जबाट करिब ५ किलोमिटर पश्चिम–दक्षिणतर्फ पर्ने बताइएको छ। थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

