करुणा कटुवाल

काठमाडौं, १९ जेठ–नेपाली कांग्रेस पार्टी निकट विद्यार्थीहरुको संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले पहिलो पटक छात्रा नेतृत्व प्राप्त गरेको छ। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले धनकुटाकी करुणा कटुवाललाई नेविसंघको अध्यक्षमा नियुक्त गरेका छन्।

कांग्रेस विधानको दफा ४२ को १ बमोजिम नियुक्त गरिएकी कटुवाललाई सभापति थापाले तोकिएको समयमै महाधिवेशन गराउने मुख्य जिम्मेवारीसहित ११ बुँदे कार्यादेश सुम्पिएका छन्।वि।सं। २०२७ सालमा स्थापना भएको नेविसंघले हालसम्म २० जना पुरुष अध्यक्षहरू पाइसकेको छ।

विगतमा पञ्चायतविरोधी आन्दोलन र शैक्षिक सुधारमा अग्रणी भूमिका निर्वाह गरेको नेविसंघ पछिल्लो समय भने आन्तरिक गुटबन्दी र महाधिवेशन गर्न नसक्दा कमजोर बन्दै आएको थियो। विगत १० वर्षको अवधिमा केवल एक पटक मात्रै महाधिवेशन हुन सकेको अवस्थामा, नयाँ अध्यक्ष कटुवालका लागि सबै पक्षलाई समेटेर निर्धारित समयमा महाधिवेशन सम्पन्न गर्नु मुख्य चुनौती बनेको छ।

विद्यार्थी आन्दोलनमा महिलाहरूको सहभागिता २०१७ सालदेखि नै सक्रिय रहे पनि नेतृत्वमा पुग्ने अवसर निकै कम थियो। यसअघि अन्य विद्यार्थी संगठनहरूमा रामकुमारी झाँक्री, नवीना लामा र पञ्चा सिंहले नेतृत्व सम्हालेको दृष्टान्त रहे पनि नेविसंघमा भने यो पहिलो अवसर हो।

नयाँ जिम्मेवारी ग्रहण गरेसँगै अध्यक्ष कटुवालले आफूलाई प्राप्त यो ऐतिहासिक अवसरलाई सदुपयोग गर्दै देशभरका नेविसंघ इकाईलाई सक्रिय बनाई सांगठनिक नयाँ उचाइमा पुर्‍याउने दृढता व्यक्त गरेकी छन्।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *