काठमाडौं, २१ जेठ–नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीका वरिष्ठ नेताहरूलाई दोहोरो चरित्र त्याग गरी तथ्यपरक र यथार्थ कुरा मात्र राख्न कडा निर्देशन दिएका छन्। संगठन विभागद्वारा आयोजित कार्यशालामा बोल्दै महासचिव पोखरेलले नेतृत्व र कार्यकर्तामाझ फरक(फरक कुरा गर्ने प्रवृत्तिले पार्टीलाई सही सूचना प्राप्त गर्नबाट रोकेको बताए।
महासचिव पोखरेलले नेतृत्वको अगाडि सबै कुरा ुठिक छु भन्ने तर कार्यकर्तामाझ अर्कै धारणा राख्ने कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै भने, ‘तपाईंहरू कार्यकर्तामाझ जाँदा एउटा कुरा गर्ने र नेतासँग आउँदा अर्कै कुरा गर्ने गर्नुभयो भने पार्टीले कहिल्यै सही अवस्था बुझ्न सक्दैन। नेतृत्वलाई जे भन्नुहुन्छ, त्यो यथार्थ हुनुपर्छ र त्यसलाई कार्यकर्ताले पनि विश्वास गर्ने हुनुपर्छ।’
प्रदेश अध्यक्षहरूले पार्टीभित्र समस्या नरहेको भनी गरेको रिपोर्टिङमाथि प्रश्न उठाउँदै महासचिव पोखरेलले भने, ‘यदि सबै कुरा ठिकै थियो भने चुनावमा किन हार व्यहोर्नुपर्योरु जनताले किन मत दिएनन्रु वास्तविकतालाई नलुकाई नेतृत्वसम्म पुर्याउनु नै नेताहरूको काम हो।’
कार्यशालाको समापन गर्दै महासचिव पोखरेलले स्पष्ट शब्दमा भने, ‘यथास्थितिमा एमाले चल्न सक्दैन, हामीले बदलिएर जानुपर्छ। हाम्रो कार्यदिशा र मनस्थिति बदल्नुपर्ने भएको छ, किनकि जनता र समुदायसँगको हाम्रो सम्बन्ध टुटेको छ।’
नेताहरूले नेतृत्व र कार्यकर्ताबीच पुलको काम गर्नुपर्नेमा उल्टो दुईथरी कुरा गर्दा एमाले जनताबाट टाढा भइरहेको उनको निष्कर्ष थियो। निर्वाचनपछिको समीक्षाका लागि आयोजित यो कार्यशालामा महासचिव पोखरेलले पार्टीलाई नयाँ ढंगले अघि बढाउन यथार्थको धरातलमा उभिनुपर्नेमा जोड दिएका हुन्।

