काठमाडौं, १३ असार–उसमान डेम्बेलेको शानदार ह्याट्रिकको मद्दतमा फ्रान्सले फिफा विश्वकप २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नर्वेलाई ४–१ ले हराउँदै समूह ‘आई’ को विजेता बनेको छ ।

लगातार तेस्रो जित निकाल्दै फ्रान्सले समूह चरणमा शतप्रतिशत सफलता हात पारेको हो । यसअघि नै दुवै टोलीले नकआउट चरणमा स्थान सुरक्षित गरिसकेका थिए । तर समूह विजेता बन्ने प्रतिस्पर्धामा फ्रान्सले आफ्नो दबदबा कायम राख्यो ।

अमेरिकाको बोस्टन स्टेडियममा भएको खेलमा डेम्बेलेले पहिलो हाफमै ३२ मिनेटभित्र ह्याट्रिक पूरा गरे । उनले खेलको सातौँ मिनेटमा पहिलो गोल गर्दै फ्रान्सलाई अग्रता दिलाए । त्यसपछि २०औँ मिनेटमा दोस्रो गोल थपे ।

नर्वेका थेलो आसगार्डले २१औँ मिनेटमा एक गोल फर्काउँदै टोलीलाई खेलमा फर्काउने प्रयास गरे । तर डेम्बेलेले ३२औँ मिनेटमा तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरे र फ्रान्सलाई ३–१ को बलियो अग्रता दिलाए ।

दोस्रो हाफमा नर्वेले गोल फर्काउने केही राम्रो अवसर पाए पनि त्यसलाई सदुपयोग गर्न सकेन । ५०औँ मिनेटमा पाएको पेनाल्टीमा योर्गन स्ट्रान्ड लार्सन गोल गर्न असफल भए । उनको प्रहार फ्रान्सका गोलरक्षक माइकल माइगनानले बचाएका थिए ।

खेलको इन्जुरी समयको चौथो मिनेटमा डिजायरे डोएले अर्को गोल थप्दै फ्रान्सको जित ४–१ मा सुरक्षित गरे ।

यो जारी विश्वकपको तेस्रो ह्याट्रिक हो । यसअघि अर्जेन्टिनाका कप्तान लियोनल मेसी र क्यानडाका जोनाथन डेभिडले पनि ह्याट्रिक गरेका थिए ।

डेम्बेले फ्रान्सका लागि विश्वकपमा ह्याट्रिक गर्ने तेस्रो खेलाडी बनेका छन् । यसअघि जस्ट फोन्टेनले सन् १९५८ मा दुई पटक र किलियन एमबाप्पेले सन् २०२२ मा एक पटक ह्याट्रिक गरेका थिए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *