काठमाडौं, १४ असार–फिफा विश्वकप २०२६ को समूह चरणका सबै खेलहरू सकिँदा सहभागी ४८ टोलीमध्ये मात्र तीनवटा टोलीले आफ्नो ‘विजेता’ साखलाई अक्षुण्ण राख्न सफल भएका छन्।
आयोजक मेक्सिको, पूर्व विजेता फ्रान्स र लियोनेल मेस्सीको टोली अर्जेन्टिनाले समूह चरणका आफ्ना तीनवटै खेलमा सानदार जित निकाल्दै स्पष्ट ९-९ अंकका साथ ‘राउन्ड अफ ३२’ मा धमाकेदार प्रवेश गरेका हुन्।
ब्राजिल, जर्मनी, नेदरल्याण्ड्स र इङ्ल्यान्ड जस्ता अन्य हेभीवेट टोलीहरूले समूह चरणमै कम्तीमा एक खेलमा अंक गुमाउँदा (हार वा बराबरी), यी तीन टोलीले भने विपक्षीहरूलाई मैदानमा कुनै मौका दिएनन्।
सह आयोजक देश मेक्सिकोले घरेलु दर्शक र मैदानको भरपूर फाइदा उठाउँदै समूह ‘ए’ मा एकछत्र राज गर्यो। मेक्सिकोले दक्षिण कोरिया, चेक गणतन्त्र र दक्षिण अफ्रिकालाई हराउँदै ३ खेलमा ३ जितसहित ९ अंक जोड्यो। आक्रामक फुटबल प्रदर्शन गरेको मेक्सिकोले विपक्षीविरुद्ध ६ गोलको स्पष्ट अग्रता कायम राख्यो।
उपाधि रक्षा गर्ने लक्ष्यका साथ मैदान उत्रिएको अर्जेन्टिनाले समूह ‘जे’ मा आफ्नो बलियो लय प्रदर्शन गर्यो। जोर्डन, अस्ट्रिया र अल्जेरिया रहेको समूहबाट अर्जेन्टिनाले लगातार ३ खेल जित्दै ९ अंक बटुल्यो।
अर्जेन्टिनाले समूह चरणभरि ७ गोलको उत्कृष्ट अग्रता बनाउँदै आफ्नो अपराजित यात्रालाई नकआउट चरणसम्म पुर्याएको छ। जसमा स्टार स्ट्राइकर मेसीले ६ गोल गरिसकेका छन्। उनी गोल्डेन बुटको बलियो दाबेदार बनेका छन्।
यस विश्वकपकै सबैभन्दा सन्तुलित र खतरनाक टोलीको रूपमा हेरिएको फ्रान्सले समूह ‘आई’ मा आफ्नो दबदबा कायम राख्यो। फ्रान्सले पनि ३ खेलमा ३ वटै जित निकाल्दै ९ अंकका साथ समूहको शीर्ष स्थान कब्जा गर्यो।
फ्रान्सले समूह चरणभरि विपक्षीको पोस्टमा गोलको वर्षा गर्दै कुल ८ गोलको अग्रता बनायो, जुन जारी विश्वकपकै समूह चरणमा सबैभन्दा उच्च गोल अन्तर हो।
यी तीन टोलीबाहेक अरू कसैले पनि शतप्रतिशत नतिजा निकाल्न सकेनन्।
