संविधानसभा सदस्य अञ्जना ताम्ली

धनकुटा, २१ असार–संविधानसभा सदस्य अञ्जना ताम्लीसहित १९ जना नेता तथा कार्यकर्ताले नेपाली कांग्रेस परित्याग गरेका छन्। उनीहरूले साधारण सदस्यसमेत नरहने गरी पार्टीसँगको राजनीतिक सम्बन्ध अन्त्य गरेको घोषणा गरेका हुन्।

दोस्रो संविधानसभामा नेपाली कांग्रेसबाट समानुपातिक सदस्य रहेकी तथा कांग्रेस महासमिति सदस्य अञ्जना ताम्ली र कांग्रेस कोशी प्रदेश सदस्य मिना राईले कांग्रेस केन्द्रीय समितिलाई पत्र पठाउँदै पार्टीभित्र बसेर काम गर्ने वातावरण नरहेको तथा पछिल्लो समय देखिएको वैचारिक मतभेदका कारण पार्टी छाड्नुपरेको उल्लेख गरेका छन्।

उनीहरूसँगै क्षेत्रीय सदस्य युवेन तुम्बा, क्षेत्रीय प्रतिनिधि राजकुमारी राई तथा क्रियाशील सदस्यहरू भोलामान ताम्ली, कृष्ण लिम्बु, जितबहादुर याख्या, भुपाल तुम्बा, देव ताम्ली, सोनी लिम्बु, टंक ताम्ली, चन्द्रकला तुम्बा, इन्द्र तुम्बा, विष्णुभक्त लिंखा, प्रविणा तुम्बा, सुजन लिम्बु, धनबहादुर तुम्बा, उदयबहादुर तेयुङ र सुरेन तुम्बाले पनि कांग्रेस परित्याग गरेका छन्।

पार्टी परित्यागबारे प्रतिक्रिया दिँदै अञ्जना ताम्लीले वर्तमान अवस्थामा आफू कांग्रेसभित्र अटाउन नसकेको बताइन्। समयसँगै पार्टीभित्र आफ्नो भूमिका सीमित हुँदै गएको अनुभूति भएको र आफूलाई साथ दिने नेता तथा कार्यकर्ताहरूबाट समेत पार्टी छाड्न दबाब आएको उनको भनाइ छ।

ताम्लीले पार्टीभित्र रहेको ‘दास र लास’ को राजनीतिक संस्कृतिमा आफू बस्न नसक्ने उल्लेख गर्दै कांग्रेस नेता गगन थापाले उठाउँदै आएको राजनीतिक संस्कृतिसम्बन्धी बहससँग आफ्नो निर्णय पनि जोडिएको बताएकी छन्।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *