काठमाडौं, २२ असार–नर्वेका स्टार फरवार्ड एर्लिङ हालान्डले फिफा विश्वकप २०२६ मा उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिँदै ‘गोल्डेन बुट’को प्रतिस्पर्धालाई थप रोमाञ्चक बनाएका छन्।
ब्राजिलविरुद्ध अन्तिम १६ को खेलमा दुई गोल गर्दै नर्वेलाई ऐतिहासिक रूपमा क्वाटरफाइनलमा पुर्याएका हालान्डले जारी प्रतियोगितामा आफ्नो कुल गोल संख्या ७ पुर्याएका हुन्।
यससँगै उनी फ्रान्सका कप्तान किलियन एम्बाप्पे र अर्जेन्टिनाका कप्तान लियोनेल मेसीसँग समान ७–७ गोल गर्दै सर्वाधिक गोलकर्ताको सूचीमा संयुक्त रूपमा शीर्ष स्थानमा पुगेका छन्।
विश्वकपको ‘गोल्डेन बुट’ सर्वाधिक गोल गर्ने खेलाडीलाई प्रदान गरिने व्यक्तिगत पुरस्कार हो। क्वाटरफाइनल चरण सुरु हुन लागेकाले मेसी, एम्बाप्पे र हालान्डबीचको गोलको प्रतिस्पर्धा अझ रोचक बन्ने अपेक्षा गरिएको छ।
हालान्डको उत्कृष्ट लयसँगै नर्वे पहिलोपटक विश्वकपको क्वाटरफाइनलमा पुगेको छ भने मेसी र एम्बाप्पे पनि आ–आफ्ना टोलीलाई उपाधि यात्रामा अगाडि बढाउने अभियानमा छन्। त्यसैले व्यक्तिगत उपलब्धि र टोलीको सफलताको दोहोरो लक्ष्यका साथ यी तीन स्टार खेलाडीमाथि समर्थकको नजर रहनेछ।
