गौरादह, २४ असार–स्पर्श सामाजिक क्लब, गौरादहले “प्रथम गौरादह महिला फुटबल प्रतियोगिता-२०८३” आयोजना गर्ने भएको छ । प्रतियोगिताको आधिकारिक पोस्टर सार्वजनिक गर्दै आयोजकले पत्रकार सम्मेलन गरि प्रतियोगिताका पुरस्कार, खेलस्थल तथा उद्देश्यबारे जानकारी दिएको हो ।

आयोजकका अनुसार प्रतियोगिता आगामी भदौ १९ गते (शुक्रबार) देखि गौरादह–१ स्थित जनता माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन हुनेछ । महिला फुटबलको विकास, महिला खेलाडीको सम्मान तथा खेलकुदमार्फत लागूऔषधमुक्त समाज निर्माण गर्ने उद्देश्यका साथ प्रतियोगिता सञ्चालन गर्न लागिएको हो ।

प्रतियोगितामा विजेता टोलीले नगद रु- १ लाख ११ हजार एक सय एघारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद रु-५५ हजार ५ सय ५५ रुपैयासहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने खेल संयोजक युवराज खडकाले जानकारी गराए ।

यसका साथै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई विभिन्न व्यक्तिगत विधामा समेत सम्मान गरिनेछ । प्लेयर अफ द म्याच, प्लेयर अफ द टुर्नामेन्ट, बेस्ट डिफेन्डर, बेस्ट गोलकिपर, बेस्ट मिडफिल्डर, बेस्ट स्ट्राइकर तथा हाई स्कोरर लाई विशेष पुरस्कार प्रदान गरिनेछ ।

स्पर्श सामाजिक क्लबका अध्यक्ष उज्ज्वल दाहालले प्रतियोगितालाई गौरादहकै ऐतिहासिक महिला खेलकुद महोत्सवका रूपमा सफल बनाउन सम्पूर्ण खेलप्रेमी, स्थानीयवासी, उद्योगी–व्यवसायी, विभिन्न संघसंस्था, प्रायोजक, सञ्चारमाध्यमलाई सहयोग र सहभागिताका लागि अनुरोध गरिएको बताएका छन् । उनका अनुसार यो प्रतियोगिताले महिला फुटबलको विकाससँगै गौरादहको खेलकुद पर्यटन र सामाजिक एकतालाई समेत नयाँ उचाइमा पुर्याउने विश्वास लिइएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *