मोरङ, २४ असार–कोशी प्रदेश खेलकुद विकास बोर्डले राष्ट्रिय तथा अन्ताराष्ट्रिय प्रतियोगितामा पदक प्राप्त गर्ने प्रदेशका १०० भन्दा बढी खेलाडीलगायतलाई सम्मान गरेको छ।

आर्थिक वर्ष २०८२/८३ मा राष्ट्रिय तथा अन्ताराष्ट्रिय प्रतियोगितामा पदक प्राप्त गर्ने प्रदेशका खेलाडीहरूलाई सम्मान तथा प्रोत्साहन कार्यक्रमअन्तर्गत पदक विजेता प्रदेशका खेलाडी, अग्रज खेलकर्मी र खेलकुद पत्रकारलाई नगदसहित सम्मान गरिएको हो।

कार्यक्रममा बोर्डले श्रीलङ्कामा सम्पन्न एसबिआई प्रथम पहिलो दृष्टिविहीन महिला क्रिकेटमा दोस्रो स्थान हासिल गर्ने प्रदेशका खेलाडीद्वय प्रतिभा राई र सुनिता भुजेललाई रु एकरएक लाखसहित सम्मान गरेको छ।

यसैगरी संयुक्त अरब इमरेट्स युएईको दुबईमा सम्पन्न एसियाली युथ पारा गेम्सअन्तर्गत टेबलटेनिस यु–२३ एकलतर्फ रजत पदक प्राप्त गर्न सफल स्वीकृत न्यौपानेलाई रु ५० हजारसहित सम्मान गरिएको छ।

यस्तै विभिन्न विधाको प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडी, व्यवस्थापक र प्रशिक्षकलाई नगदसहित सम्मान गरिएको छ। कार्यक्रममा पाँच खेलकुद पत्रकारलाई समेत सम्मान गरिएको थियो।

बोर्डका अध्यक्ष तथा सामाजिक विकासमन्त्री रामप्रसाद मेहता, उपाध्यक्ष वसन्तराज अर्याल, सदस्यसचिव विप्लव घोषलगायतले सम्मानपत्रद्वारा सम्मान गरेका हुन्।

उक्त अवसरमा मन्त्री मेहताले अन्ताराष्ट्रिय क्षेत्रमा मुलुकको नाम चिनाउने खेलाडीलाई सम्मान गर्दा गर्व लागेको बताए।

सरकार खेलाडीको वृत्तिविकास, खेल पूर्वाधारको स्तरोन्नति र प्रतियोगिता नियमित आयोजनाका लागि नीतिगत र बजेटको व्यवस्था गरिने उनले बताए।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *