काठमाडौँ, २५ असार–फिफा विश्वकप २०२६ को क्वाटरफाइनल चरणको रोमाञ्चक सुरुआत आज राति दुई बलिया टोली फ्रान्स र मोरक्कोबीचको बहुप्रतीक्षित भिडन्तबाट हुँदैछ।

यो खेल नेपाली समय अनुसार भोलि बिहान १ः४५ बजे सुरु हुनेछ। सन् २०२२ को कतार विश्वकप सेमिफाइनलको पुनरावृत्तिका रूपमा रहेको यस खेलको विजेता टोली उपाधिभन्दा मात्र दुई जित टाढा पुग्नेछ।

मैदान बाहिरका दुई मित्र, मैदान भित्रका प्रतिद्वन्द्वी यस खेलको सबैभन्दा रोचक पक्ष पेरिस सेन्ट-जर्मेनका दुई पूर्व सहकर्मी तथा निकै प्रगाढ मित्रहरू किलियन एम्बाप्पे र अशरफ हाकिमीबीचको भिडन्त हुनेछ। सन् २०२१ मा हाकिमी पीएसजीमा आबद्ध भएपछि यी दुई सुपरस्टारबीच निकै लोभलाग्दो सम्बन्ध बनेको थियो।

मैदान बाहिर सुख-दुःख, सपना र बिदाका पलहरू सँगै साट्ने यी दुई घनिष्ठ मित्रहरू आज राति भने देशलाई सेमिफाइनल पुर्‍याउन एकअर्काविरुद्ध ९० मिनेटसम्म कडा प्रतिस्पर्धामा उत्रिनेछन्। रेफ्रीको सिट्टी बजीसकेपछि उनीहरूको प्रगाढ मित्रता केही समयका लागि थाती रहनेछ।

एम्बाप्पेको उत्कृष्ट लयमा फ्रान्सको भरोसा प्रतियोगिताको अन्तिम १६ मा पाराग्वेलाई १–० ले पराजित गर्दै फ्रान्सले क्वाटरफाइनलमा स्थान बनाएको हो। उक्त खेलमा स्टार स्ट्राइकर किलियन एम्बाप्पेले पेनाल्टीमार्फत गरेको गोल नै फ्रान्सको जितका लागि पर्याप्त बनेको थियो।

यस विश्वकपमा हालसम्म ७ गोल गरिसकेका एम्बाप्पे लगातार दोस्रोपटक विश्वकपमा ुगोल्डेन बुटु जित्ने कीर्तिमानी लक्ष्यमा छन्। यदि फ्रान्सले आज मोरक्कोलाई पराजित गरेमा सेमिफाइनलमा स्पेन र बेल्जियमबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

अर्को इतिहास रच्ने दाउमा मोरक्को अन्तिम १६ को खेलमा क्यानडालाई ३-० को फराकिलो अन्तरले हराउँदै मोरक्कोले अन्तिम आठको यात्रा तय गरेको हो। कतार विश्वकपमा पोर्चुगललाई हराएर विश्वकपको सेमिफाइनल पुग्ने पहिलो अफ्रिकी राष्ट्र बनेको मोरक्को यसपटक पनि हाकिमीको नेतृत्वमा सोही इतिहास दोहोर्‍याउने दाउमा छ।

तर, मोरक्कोका लागि टोलीका प्रमुख खेलाडी इस्माइल साइबारी ह्यामस्ट्रिङ चोटका कारण मैदान बाहिर रहने सम्भावनाले केही चिन्ता थपेको छ। उनको स्थानमा उत्कृष्ट लयमा रहेका सुफियान रहिमीले सुरुवाती ११ मा मौका पाउन सक्नेछन्।

कतार विश्वकप २०२२ को सेमिफाइनलपछि यी दुई टोली फेरि आमनेसामने हुन लागेकाले खेल निकै रोचक हुने देखिन्छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *